Technology Khabar २४ असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सरकारले गत शुक्रबार गरेको निर्णयलाई यहि साता कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेको भदौ १४ पछि को राजनैतिक नियुक्तीलाई खारेज गर्ने निर्णयसँगै सरकारले ती व्यक्तिहरुलाई खारेजीको पत्र दिने भएको छ ।
सो निर्णयबाट संचार तथा सूचना प्रविधि मन्त्रालय मातहतको दूरसंचार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणका अध्यक्षसहित एक सदस्यको नियुक्ति पनि खारेजीमा परेको हो।
संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदको सो निर्णयको आधारमा नियुक्तिहरु खारेज भएको जानकारीसहितको पत्र पठाउने तयारी गरेको छ ।
‘मन्त्रिपरिषदको निर्णयअनुसार हामी आजभोलीमा नै सम्बन्धित निकायमा पत्र पठाउँदैछौं,’ स्रोतले भन्यो ।
स्रोतकाअनुसार नेपाल दूरसंचार प्राधिकरणका भएको नियुक्ति पनि खारेजीमा परेपछि त्यसको जानकारी दिन सम्बन्धित व्यक्तिलाई पत्र दिन लागिएको हो ।
मन्त्रालयले दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा तथा सदस्य हेम कुमार श्रेष्ठलाई पत्र दिनेछ । पत्र बुझेपछि उनीहरुले स्वत: पद छाड्नुपर्नेछ ।
यी दुबैलाई शेर बहादुर देउवा सरकारले नियुक्ती गरेको थियो ।
तत्कालिन शेर बहादुर देउवा सरकारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अध्यक्ष पदमा झालाई अधिकतम ६५ वर्ष ननाध्ने गरी बढीमा ५ वर्षको लागि पुनः नियुक्तिको निर्णय गरेको थियो । त्यसबेला उमेर हद लाग्ने भन्दै अधिकतम उमेर हद ६५ वर्ष ननाध्ने गरि उनलाई नियुक्ती पत्र दिईएको थियो । मन्त्रालयले अध्यक्ष झालाई मंसिर १९ गतेदेखि लागू हुने गरि नियुक्ति पत्र दिएको थियो । पुनः नियुक्तिको पत्रअनुसार झाले प्राधिकरणमा करिब १३ महिना मात्र काम गर्न पाउने थिए ।
त्यसपछि फेरी देउवा सरकारले अर्को निर्णय गरेर उनलाई पाँच वर्षसम्म काम गर्न पाउने गरि नियुक्ती दिएको थियो । उनले पद बहाली रहेको भए २०७९ मंसिरसम्म अध्यक्ष भएर काम गर्न पाउने थिए ।
अब यी पदहरु रिक्त भएपछि सरकारले पुन नयाँ प्रकृयाअनुसार नियुक्त गर्नुपर्ने हुन्छ ।
प्रकाशित: २४ असार २०७५, आईतवार