सरकारको राजस्व नीतिले मोबाइलको मूल्य बढ्यो, यस्तो छ बढेको बजार मूल्य सूची

Technology Khabar १८ असार २०७५, सोमबार

सरकारको राजस्व नीतिले मोबाइलको मूल्य बढ्यो, यस्तो छ बढेको बजार मूल्य सूची
फाइलः मोबाइल फोन किन्दै ग्राहकहरु

काठमाडौं ।

अनुज राज । काठमाडौं । विभिन्न मोबाइल कम्पनीहरुले मोबाइल फोनको मूल्यमा वृद्धि गरेका छन् । कम्पनीहरुले सरकारी करका कारण मोबाइल फोनको मूल्य बढेको भन्दै खुद्रा बिक्रेताहरुलाई धमाधम नयाँ मूल्यको सूची बिबरण पठाईरहेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि घोषणा गरेको बजेटमा मोबाइल फोन आयातमा दिँदै आएको भ्याट फिर्ता हटाएको छ भने मोबाइल फोनमा समेत थप ५ प्रतिशतको अन्तशुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारको नयाँ कर नीतिले मोबाइल फोनको मूल्य बढेको व्यवसायीहरुले दाबी गर्दै आएका छन् । मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक मल्होत्राले केहिअघि मोबाइल्सखबरसँग कुरा गर्दै सरकारी नीतिले मोबाइलको मूल्य बढेको बताएका थिए ।

‘सरकारले लिएको नयाँ कर नीतिमा ५ प्रतिशत अन्तशुल्क लिने बारेमा हामीले पटक पटक सरकारी अधिकारीहरुलाई भनेपनि केहि भएन् । त्यसैले कम्पनीहरुले आफ्नो तरिकाले मूल्य बढाउँदैछन्,’ उनले भने।

बजारमा शाओमीलगायतका केहि कम्पनीहरुले यसअघि नै मोबाइलको बजार मूल्य वृद्धि गरेपनि बजार हिस्सा ठूलो ओगटेको सामसंगले फोनको मूल्य बढाएको थिएन् । तर हाल सामसंगले पनि विभिन्न फोनहरुको मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धिको सूचीमा सामसंगको जे वान नेक्स्टदेखि फ्ल्यागशिप फोन ग्यालेक्सी एस नाइन र नाइन प्लससम्मको मूल्य राखिएको छ ।

सामसंगले यहि जूलाई १ तारिख अर्थात असार १७ गतेदेखि लागू हुनेगरि मूल्य बढाएको हो । सामसंगले आधिकारिकरुपमा मूल्य नबढाउँदा अन्य मोबाइल ब्राण्डहरुले मूल्य बढाउन पाएका थिएनन् । उनीहरु बजारको ठूलो ब्राण्ड सामसंगको मूल्य वृद्धिको निर्णयलाई कुरेर बसेका थिए ।

त्यस्तै अर्को ठूलो बजार हिस्सा ओगटेको ह्वावे ब्राण्डले भने यसअघि नै मोबाइलको मूल्यमा वृद्धि गरेको छ । कम्पनीले जून २६ तारिखदेखि नै लागू हुनेगरि कम्पनीको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

ताम्राकार कम्प्लेक्समा मोबाइल व्यापार गर्दै आएका गूरुदत्त शर्माले सबैजसो मोबाइल फोनको मूल्य बढेको जानकारी दिए । ‘कम्पनीहरुले धमाधम नयाँ प्राइस लिष्ट पठाउँदैछन्,अधिकांश फोनको मूल्य बढेको छ,’ उनले भने ।

यसका साथमा अन्य ब्राण्डहरुले समेत मोबाइल फोनको मूल्यमा वृद्धि गरेको जानकारी दिएका छन् ।

प्रकाशित: १८ असार २०७५, सोमबार

तपाइको प्रतिक्रिया