Technology Khabar १५ जेष्ठ २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सरकारले मोबाइल फोन आयातमा दिँदै आएको भ्याट फिर्ताको सहुलियत आगामी आर्थिक वर्षको बजेट मार्फत खारेज गरेकोछ । भ्याट फिर्ता नदिने सरकारी नीतिले स्थानीय बजारमा मोबाइल फोनको मूल्य बढ्ने देखिएको छ ।
यस्तो नीतिले बजारमा उपभोक्ताले आगामी आवदेखि मोबाइल किन्दा बजार मूल्य बढेको अनुभव गर्ने भएका छन् ।
सरकारले मोबाइल फोन आयातमा भ्याट फिर्ता दिने नीति खारेज गरेपछि बजारमा चोरीका मोबाइल फोनहरु अधिक मात्रामा भित्र्ने आशंका मोबाइल फोन आयातकर्ताहरुले गरेका छन् ।
मोबाइल फोन इम्पोर्टस एसोशियसनका महासचिव तथा लाइफ कम प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवालले सरकारको नयाँ बजेट नीतिले स्थानीय बजारमा मोबाइल फोनको मूल्य बढ्ने बताए ।
मोबाइल फोनको मूल्य ५ देखि ७ प्रतिशतसम्म सिधै बढ्नसक्छ
सरकारी नीतिले मोबाइल फोनको मूल्य ५ देखि ७ प्रतिशतसम्म सिधै बढ्नसक्छ, यो भन्दा पनि ग्रे मार्केट बढ्नसक्ने भयो, महासचिव अग्रवालले मोबाइल्स खबरसँग भने ।
उनकाअनुसार आयातमा सरकारले पुरै भ्याट फिर्ता दिएको भन्ने हल्लाहरु रहेपनि आयात मूल्यमा लाग्ने भ्याटको ४० प्रतिशतसम्म मात्र फिर्ता दिने गरेको र त्यहि आधारमा बजार मूल्य निर्धारण हुँदै आएको थियो ।
उनले सरकारलाई यस्तो नीति नलिन भनेर अनुरोध गरेपनि आईएमईआई नम्बर लक सिस्टम आएपनछि समस्या समाधान गर्ने आश्वासन सरकारी अधिकारीहरुले दिएको बताए ।
‘हामीले यसबारेमा सरकारका सबैलाई भनेका थियौं, तर उनीहरुले आईएमईआई नम्बर लक गर्ने सिस्टम ल्याउने हामीलाई भनेका थिए, तर अझै भएको छैन्,’ उनले भने ।
यसअघि पनि भ्याट फिर्ता दिनुको उद्धेश्य भारतलगायतका देशहरुबाट अवैध फोन नओस भन्ने थियो
अर्का मोबाइल आयातकर्ता तथा कल मोबिलिटी प्रालिका पुलकित भिमसरियाले सरकारी नीतिले अन्य देशहरुबाट अवैध मोबाइल फोन आउनसक्ने आशंका व्यक्त गरे।
‘यसअघि पनि भ्याट फिर्ता दिनुको उद्धेश्य भारतलगायतका देशहरुबाट अवैध फोन नओस भन्ने थियो, नयाँ नीतिले फेरी अवैधरुपमा आउनसक्छ,’ भिमसरियाले भने ।
उनले भ्याट तिरे बापतको रकमको आधारमा मोबाइलको बजार मूल्य बढ्ने दाबी गरे ।
सजिलो भाषामा भन्दा कुनै व्यवसायीले १०० रुपैयाँ बराबरको मोबाइल फोन आयात गर्दा त्यसमा लाग्ने १३ प्रतिशत भ्याट अर्थात १३ रुपैयाँको ४० प्रतिशत फिर्ता पाउँदै आएका थिए । यस्तो चालिस प्रतिशत भनेको करिब ५ रुपैयाँ २० पैसा हुन्छ । यो रकम सरकारले आयातकर्तालाई नै फिर्ता दिने गरेको थियो । अब भने त्यो ५ रुपैयाँ २० पैसा पनि सरकारको राजस्वमा दाखिला हुनेछ । भ्याट फिर्ता हुँदा उनीहरुले १०० रुपैयाँमा ७ रुपैयाँ ८० पैसा भ्याटको रकम जोडेर त्यसमा अन्य खर्च र नाफा राखेर फोन बिक्री गर्ने गर्दथे भने अब सिधै भ्याटको १३ प्रतिशत जोडेर ११३ रुपैयाँमा अन्य खर्च र नाफाको मार्जिन राखेर फोन बिक्री गर्ने छन् ।
मोबाइल आयातकर्ताहरुले पछिल्लो दिनमा नेपाली रुपैयाँ र अमेरिकी डलर बिचको परिवत्र्य मूल्यले बजारलाई असर पारिरहेको बेला यसले मोबाइल बजारमा थप समस्या निम्याउने बताए ।
अहिले नै छिमेकी मुलुक भारत र नेपाली बजारबिच मोबाइल फोन मूल्यमा निकै अन्तर छ जसले गर्दा खुला सिमानाको फाईदा उठाउँदै अबैधरुपमा फोनहरु भित्रीरहेको छ ।
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार