रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

Technology Khabar ११ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा आउन सफल भएको हो ।

अनुसन्धान संस्था काउन्टरप्वाइन्टले सन् २०१८ को पहिलो चौमासिकको बजार बारेमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टअनुसार विश्वभरको फीचर फोनमा जियोफोन पहिलो स्थानमा आएको हो । त्यस्तै फीचर फोन बजारमा नोकियाले आफ्नो पुनरागमनपछि निकै राम्रो अवस्था बनाएको छ । रिपोर्टकाअनुसार ग्लोबल एचएमडीले उत्पादन गर्ने नोकिया १४ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा रहेको छ ।

फीचर फोनको बजारमा तेस्रो स्थानमा सिंगापुरको ब्राण्ड आइटेल (iTel) ले १३ प्रतिशत बजारसहित ओगट्न सफल भएको छ भने फीचर फोन बजारको चौथो स्थानमा सामसंग रहेको छ । सामसंगले कुल विश्व बजारको ६ प्रतिशत मात्र हिस्सा ओगटेको छ ।

काउन्टरप्वाइन्टकाअनुसार फीचर फोन बजारको पाँचौं खेलाडीको रुपमा टेक्नो (Techno) ब्राण्ड रहेको छ जसले कुल ६ प्रतिशत बजार हिस्सा लिएको छ भने अन्य विभिन्न ब्राण्डहरुले कुल फीचर फोन बजारको ४६ प्रतिशत बजार ओगटेका छन् ।

विश्व बजारमा रिलायन्स जियोफोनले सफलता पाउनुमा यसले भारतीय बजारमा पाएको उत्कृष्ट बिक्री भएको फोनमा पर्नु कारक रहेको छ । रिलायन्स जियोफोनले भारतीय बजारमा मात्रै कुल निर्यातको ४६ प्रतिशत फोन पहिलो चौमासिकमा पठाएको थियो ।

सो अवधिमा विश्व बजारमा फीचर फोनको बजार हिस्सा पनि ३८ प्रतिशतको वार्षिक वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

विश्वमा फीचर फोन बिक्री हुनुको मूख्य कारण यो सामान्य किसिमको हुनु, हलुका र साधारणरुपमा चलाउन सकिने, लामो अवधिसम्म ब्याट्री टिक्नु र सस्तो मूल्यमा किन्न पाईनु रहेका छन् ।

रिपोर्टकाअनुसार विश्वर करिब २ करोड फीचर फोन प्रयोगमा रहेका छन भने करिब ५० लाख फीचर फोन प्रत्येक वर्ष बिक्री हुने गरेको छ ।

फीचर फोन लोकप्रिय हुनुमा सस्तो मुल्यका स्मार्टफोनहरुले न्यून गुणस्तरको कार्यदक्षता दिने र गुणस्तरमा कमजोर हुने हुँदा मानिसहरुले त्यसको साटोमा फीचर फोन नै किन्ने गरेको बताईएको छ ।

पछिल्ला दिनहरुमा फोरजी प्रविधियुक्त फीचर फोनहरु आएको हुँदा यसले अन्य बजार समेत बढाईरहेको बताईएको छ । फीचर फोन प्रयोगकर्ताहरुले सस्तो किसिमका डाटा प्लान प्रयोग गर्ने र कतिपयले पहिलो पटक इन्टरनेट चलाउने गरेको पाईएको रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्टअनुसार अझैपनि प्रमुख फीचर फोन ब्राण्डहरुमध्ये धेरै जसो २जी फीचर फोन ब्राण्डहरु नै रहेका छन् ।

स्रोत

प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया