ह्याकरहरुले मेक्सिकोका बैंकहरुबाट करोडौं रकम चोरे, पेमेन्ट सिस्टममा नै आक्रमण

Technology Khabar १ जेष्ठ २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । केहि महिना अगाडि नेपालको केहि बैंकहरुबाट स्विफट सिस्टममा ह्याक गरेर करोडौं रकम चोरी भएको हामी सबैलाई जानकारी नै छ । त्यसबेला सबैभन्दा धेरै रकम एनआईसी एशिया बैंकबाट चोरी भएको सार्वजनिक भएको थियो । जुन पछि समाधान भयो ।

हाल फेरी यस्तै घट्ना सार्वजनिक भएको छ तर यो घटना नेपालको बैंकमा नभई मेक्सिकोका बैंकहरुको हो ।

मेक्सिकोका बैंकहरुबाट करोडौं अमेरिकी डलर बराबरको रकम ह्याक गरेर चोरी भएको जानकारी बाहिर आएको छ ।

ह्याकरहरुले स्विफ्ट जस्तै नेटवर्क भएको मेक्सिकोको आफ्नै एसपीईआई इन्टरबैंक ट्रान्सफर सिस्टममा आबद्ध भएका बैंकहरुमा नक्कली कारोबार पठाएर करोडौं रकम चोरी गरेका हुन् । ह्याकरहरुले मेक्सिकन बैंकबाट करिब १५.४ मिलियन अमेरिकी डलर बराबरको ३०० मिलियन पेसोको कारोबार गर्न सफल भएका हुन् । तर यो भन्दा पनि धेरै रकम झिकिएको हुनसक्ने अनुमान गरिएको छ ।

यस्तो रकम चोरी हुने बैंकमा मेक्सिकोको दोस्रो नम्बरमा रहेको बार्नटे नामक बैंक पनि रहेको छ ।

ह्याकरहरुले विभिन्न बैंकका दर्जनौं शाखाहरुमा नक्कली खाता सिर्जना गरेर रकम झिकेको बताईएको छ । ह्याकरहरुले झिकेको मध्ये कति रकम नगदमा झिकियो भन्ने थाहा हुन सकेको छैन भने केहि नक्कली कारोबारहरु रोकिएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ।

सो स्विफ्ट ह्याकिंगमा मेक्सिकोको केन्द्रिय बैंकको एसपीईआई इन्टरबैंक ट्रान्सफर सिस्टममा कुनै समस्या नदेखिएपछि विभिन्न बाहिर संस्थाहरु तथा तेस्रो कम्पनीद्धारा बनाईएका पेमेन्ट सिस्टमको कनेक्सनमा समस्याको कारण यस्तो हुनसक्ने अनुमान गरिएको छ ।

मेक्सिकोका बैंकहरुमा अप्रिलको अन्त्यमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो ।

माध्यम

प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया