Technology Khabar ३१ बैशाख २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । सामसंगले जे सिरिजको दुई नयाँ ब्राण्डका स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मिडरेन्जमा जे सिरिजमा स्मार्टफोनहरु ल्याईरहेकोमा नयाँ फोनहरु ग्यालेक्सी जे फोर (Galaxy J4) र ग्यालेक्सी जे सिक्स (Galaxy J6) संस्करणका फोनहरु ल्याउन लागेको हो ।
कम्पनीले ग्यालेक्सी जे फोर र ग्यालेक्सी जे सिक्स अफिशियल सपोर्ट पेजमा लिस्टेड छ, यसको अर्थ दुबै फोनहरु विश्व बजारमा लन्चका लागि तयार भएका छन् ।
ग्यालेक्सी जे सिक्स
सामसंग ग्यालेक्सी जे सिक्स स्मार्टफोनमा एस बाइक मोड राखिएको चर्चा आएको छ भने यसमा अल्ट्रा डेटा सेभिंग फीचर पनि हुने बताईएको छ ।
जे सिक्समा इन्फिनिटि डिस्प्ले प्रयोग गरिनेछ, हाल यस्तो डिस्प्ले ग्यालेक्सी एस नाइनमा पनि प्रयोग गरिएको छ । फोनमा ५.६ इन्चको एमोलेड डिस्प्ले एचडी प्लस राखिएको छ ।
फोनमा १.६ गीगाहर्जको एक्सनोज ७८७० अक्टाकोर प्रोसेसर हुनेछ भने यो फोन २जीबी, ३ जीबी र ४ जीबी र्याममा आउने छ । त्यस्तै जे सिक्स ३२ जीबी र ६४ जीबीको आन्तरिक स्टोरेजमा हुनेछ जसलाई बढाउन सकिनेछ ।
फोटोका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनमा पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर रहनेछ ।
त्यस्तै यसमा ३,००० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड ८.० अपरेटिंग सिस्टममा यो फोन संचालन हुनेछ ।
ग्यालेक्सी जे फोर
सामसंगले ल्याउने ग्यालेक्सी जे फोरमा भने जे सिक्सको भन्दा केहि कम फीचरहरु राखिएको छ । यो फोनमा ५.५ इन्चको ७२० पिक्सेल डिस्प्ले राखिएको छ, यसको डिस्प्ले एलसिडी वा सूपर एमोलेड के हो भन्ने स्पष्ट छैन् ।
यो फोन १.६ गीगाहर्जको क्वाडकोर एक्सनोज ७५७० प्रोसेसर छ भने २जीबी र ३ जीबी र्याम राखिएको छ ।
फोटोका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
फोनमा ३,००० एमएएचको ब्याट्री प्याक छ भने ड्यूल सिम तथा एलटिई कनेक्सन फीचर रहेका छन् । ग्यालेक्सी जे फोर पनि एन्ड्रोयड ८.० अपरेटिंग सिस्टममा संचालन हुन्छ ।
यी दुबै फोनहरु कहिलेसम्ममा सार्वजनिक हुन्छन भन्ने स्पष्ट छैन तर पनि छिटै आउने अनुमान गरिएको छ ।
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार