टेलिकमको ९ महिनाको नाफा ११ अर्ब ८५ करोड, ओटीटीले आम्दानीमा असर पारेको दाबी

  • Technology Khabar | ३० बैशाख २०७५, आईतवार
टेलिकमको ९ महिनाको नाफा ११ अर्ब ८५ करोड, ओटीटीले आम्दानीमा असर पारेको दाबी
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले ओटीटी सेवाका कारण कम्पनीको आम्दानीमा असर परेको दाबी गरेको छ । कम्पनीले पछिल्लो दिनहरुमा ग्राहकहरुको आकर्षण डाटामा बढिरहेको भन्दै त्यसको लागि समेत नयाँ प्याकेजहरु ल्याएको र शुल्क समायोजन गरेको कारण आम्दानीमा असर परेको जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ, जुन विश्वव्यापी रुपमा देखिएको प्रबृत्ति नै हो ।’

टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।

कम्पनीले गत साउनदेखि चैत मसान्त सम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । सो वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो ।

यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ रहेको जनाएको छ ।

प्रकाशित: ३० बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...