भारतीय प्रधानमन्त्री मोदीको भ्रमण क्षेत्रमा मोबाइल फोन नलाग्ने

Technology Khabar २७ बैशाख २०७५, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण क्षेत्रमा मोबाइल फोन नलाग्ने
सांकेतिक तस्विर

काठमाडौं ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवधिमा उनी भ्रमणमा जाने स्थानहरुमा मोबाइल सेवा अबरुद्ध हुनसक्ने छ । उनी नेपालमा रहुन्जेल अर्थात शुक्रबार र शनिवार जनकपुर, मुक्तिनाथ र काठमाडौंका विभिन्न स्थानमा मोबाइल नेटवर्कले राम्रोसँग काम गर्न नसक्ने हुन सक्दछ । सुरक्षाका कारण भीभीआइपी भ्रमण वरपरको क्षेत्रहरुमा मोबाइलको नेटवर्क डाउन हुनेछ ।

मोदीको सुरक्षाको लागि फ्रिक्वेन्सी जामर प्रयोग गरिने छ । यसअघि भारतबाट नै मोदिको लागि विशेष फ्रिक्वेन्सी जामर गाडी ल्याईएकोमा हाल नेपालमा नै त्यस्तो प्रविधि उपलब्ध रहेको बताईएको छ । मोबाइल फ्रिक्वेन्सी कन्ट्रोल गर्ने जामर गाडिले वरिपरिका सबै मोबाइल नेटवर्कहरु रोक्न सक्दछ । जसको कारण निश्चित क्षेत्र वरिपरि मोबाइल फोन सम्पर्क हुन सक्दैन् ।

आतंकवादीलगायतका गलत गर्ने तत्वले भीभीआइपीको गतिबिधिबारे कतै सञ्चार सम्पर्क गर्न नपाओस् भनेर यस्तो प्रविधि जडान गरिएको हुन्छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमण अवधिभर सुरक्षाको दृष्टिले सो प्रयोग हुने सुरक्षा सम्बद्ध अधिकारीले जानकारी दिए ।

सो जामरले करिब न्यूनतम १ मिटरदेखि २ किलोमिटर वरपरको क्षेत्रमा मोबाइल सेट, विद्युतिय डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ।

हाईप्रोफाइलका व्यक्तिहरुको भ्रमण र सुरक्षाको लागि मोबाइल जामर प्रयोग गर्ने गरिन्छ, तर अन्य बेलामा प्रयोग गर्नु गैर कानूनी हुने प्रविधि क्षेत्रमा कार्यरत अधिकारीले बताए ।

यस्तो मोबाइल जामर डिभाइस सिंहदरबारमा पनि प्रयोगमा ल्याइएको छ ।

के हो मोबाइल जामर

मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ । जामरले मोबाइल फोनले प्रयोग गर्ने समान फ्रिक्वेन्सीमा नै सिग्नल प्रशारण गर्ने गर्दछ, जसले गर्दा मोबाइल फोन र बेस स्टेशनबिच संचार सम्पर्क बिच्छेद गरिदिन्छ । जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोन लगायतका विद्युतिय डिभाइसहरु अबरुद्ध हुने गर्छन् ।

जामरलाई जहाँ पनि राखेर प्रयोग गर्न सकिन्छ । यसलाई निश्चित स्थानमा राखेर वा कुनैपनि गाडिमा राखेर एक ठाउँबाट अर्को ठाउँमा प्रयोग गर्न सकिन्छ ।

यस्तो डिभाइसले सामान्यत टूजी, थ्रीजी, फोरजी, सिडिएमए, वाईफाई, ब्लूटूथलगायतका अधिकांश फ्रिक्वेन्सीहरुलाई अबरुद्ध पार्दछ ।

जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पुर्याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा गैरकानूनी कार्य र अपराध मानिन्छ। कतिपय देशहरुमा भने यस्तो प्रविधि अनुमतिमा मात्र प्रयोग गर्न सकिन्छ । प्रयोगमा हुँदा मोबाइल जामर उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध पुर्याउँछ ।

प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया