Technology Khabar २७ बैशाख २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । प्रदेश नं ६ मा अवस्थित् सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दियो ।
अबदेखि विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती,जिन्सी व्यवस्थापन देखि मिटररिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्छ ।
‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह्रो भइरहेको थियो । ग्राहक धेरै हुँदा ग्राहकहरू तीनचार घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो । इसेवासँगको सहकार्यले अब लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने ।
। यसअघि सुनसरीकोे इटहरी खानेपानी, भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, कास्कीकोे लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानी, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् ।
पछिल्लो समय खानेपानी समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ, भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् ।
सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको जनाएको छ ।
प्रकाशित: २७ बैशाख २०७५, बिहीबार