Technology Khabar ६ बैशाख २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् ।
मेगा बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सिइओ नियुक्त गरेको हो । उनले सोही दिनबाट औपचारिक रुपमा पदभार ग्रहण गरी सकेकि छिन् । यससंगै ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर भएकि हुन् ।
सिइओ नियुक्त भएपछि उनले मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताईन् । थप लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर बैंकलाई देशको अग्रणी बैंकको रुपमा स्थापित गर्ने खुञ्जेलीको अठोट छ ।
यसअघि कायममुकाम सिइओ रहनुभएकी खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बनेकी थिईन् ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २७ वर्षको बैंकिङ करिअरको अनुभव रहेको बैकले जनाएको छ ।
प्रकाशित: ६ बैशाख २०७५, बिहीबार