नोकियाका नयाँ स्मार्टफोन नेपाल भित्रँदै, नोकियाको फिचर फोन पनि आउने

  • Technology Khabar | १५ चैत्र २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं । नोकियाले नेपाली बजारमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेकोछ । नोकियाको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रालिले फेब्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले सार्वजनिक गरेको मध्ये तीन नयाँ मोडलका फोनहरु ल्याउन लागेको हो ।

कम्पनीले नोकियाका तीन नयाँ फोनहरु नोकिया वान(Nokia 1), नोकिया सिक्स(२०१८) भर्सन Nokia 6(2018) र नोकिया सेभेन प्लस(Nokia 7plus) सार्वजनिक गर्नेछ ।

यी तिन वटै फोनहरु नेपाली बजारमा अप्रिलको दोस्रो साता अर्थात चैत अन्तिम सातादेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक आशिष जिन्दलले मोबाइल्स खबरलाई जानकारी दिए । उनकाअनुसार नोकियाले तिन नयाँ स्मार्टफोनका साथमा नोकिया ८११० मोडलको फिचर फोन पनि नेपालमा उपलब्ध गराउने छ ।

कम्पनीकाअनुसार नोकिया १ को मूल्य करिब ९ हजार ४ सय रुपैयाँ तोकिने छ भने नोकिया ६ को ३जीबी र्याम ३२ जीबी स्टोरेजको मूल्य करिब २९ हजार रुपैयाँ तथा नोकिया ६ ४ जीबी ६४ जीबीको मूल्य करिब ३४ हजार रुपैयाँ तोकिने छ ।

त्यसैगरि कम्पनीले नेपाली बजारमा नोकिया सेभेन प्लस पनि ल्याउने छ जसको मूल्य करिब ४७ हजार रुपैयाँ हुनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक जिन्दलकाअनुसार नोकियाले ल्याउने फिचर फोन नोकिया ८११० मोडलको समेत मूल्य तय गरिएको छ । सो फोन नेपाली बजारमा करिब ९ हजार ५ सय रुपैयाँमा किन्न पाईनेछ ।

‘नोकियाको यो फिचर फोन प्रिमियम स्मार्टफोन सेग्मेन्ट प्रयोगकर्ताहरुको लागि सेकेण्ड फोनको रुपमा मात्र प्रयोग हुनसक्ने हुँदा त्यहि अनुसार बजारमा सार्वजनिक गरिनेछ,’ उनले भने ।

विशेषगरि सो फिचर फोन यूरोपियन बजारको लागि बनाईएको उनको भनाई थियो ।

प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया