
काठमाडौं ।
काठमाडौं, १ चैत । नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले चैत १ गतेदेखि भारत–नेपाल रेमिटेन्स सेवा शुरुवात गरेका छन् ।
सो सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिने र नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुने कम्पनीले जानकारी दिएको छ ।
भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।
नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्गसिर महनिामा रेमिटेन्स सम्झौता भएको थियो ।
प्रकाशित: १ चैत्र २०७४, बिहीबार