काठमाडौं ।
काठमाडौं, २५ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक ओपोले एफ फाइभको ‘रेड एडिसन’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरेर नयाँ रातो कलर अप्सनको ओपो एफ फाइभको बिक्रि शुरु भएको घोषणा गर्यो ।
एफ २.० अपेचर र २.८ सेन्सर भएको यसमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ। यसले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सक्ने कम्पनीले दाबी गरेको छ।
कार्यक्रममा ओपो नेपालका ब्राण्ड म्यानेजर पियर्सनले नेपाल ओपोको लागि निकै महत्वपूर्ण बजार रहेको बताए । उनले त्यहि अनुसार विभिन्न मोडलका फोनहरु नेपाली बजारमा ल्याउने गरिएको जानकारी दिए ।
फोनको रियर क्यामेरा १६ मेगापिक्सेलमा रहेको छ। एफ १.८ अपार्चर लेन्स भएको क्यामेराले कम वा बढी प्रकाश भएको अवस्थामा पनि गुणस्तरीय तस्वीर खिच्ने बताइएको छ।
फोनको सेल्फी क्यामेराको एक नवितम फिचर्स हो, एआई ब्युटी मोड। यसले ग्लोबल डाटाबेसका आधारमा सेल्फी खिच्ने ब्यक्तिको अनुहारको आकार तथा प्रकारका पहिचान गरी त्यसै अनुरुपमा तस्वीर खिच्ने कम्पनीले जानकारी दिएको छ।
एन्ड्रोयडमा आधारित कलरओएस ३.२ भर्सनका साथमा ६ जीबी र्याम भएको फोनमा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले फ्ल्यागशिप मोडल एफफाइभका लागि ग्राहक तथा सरोकारवालाबाट राम्रो प्रतिक्रिया पाएको दाबी गरे। उनले नयाँ एडिसनले पनि बजारमा राम्रो प्रभाव पार्ने अपेक्षा गरेका छन् ।
फोनमा ६ इञ्चको फूल एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ। साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्ने कम्पनीको भनाई छ।
फोनमा ३ हजार २ सय एमएएचको ब्याट्री ब्याकअप रहेको छ। फोन पुरा चार्ज भएपछि निरन्तर १२ घण्टासम्म चलाउन सकिने कम्पनीको दावी छ।
विशेष रातो रंगमा उपलब्ध एफफाइभको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७४, सोमबार