युवाहरुको गोप्य फेसबुक समूहको रुपमा रहेको ‘मेन्स रुम रिलोडेड’ छैटौं वर्षमा

Technology Khabar २५ मंसिर २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । फेसबुकमा रहेको नेपालको सबंभन्दा ठूलो सामाजिक संजाल समूह मध्येको एक मेन्स रुम रिलोडेड (एमआरआर) ले ६ वर्ष पुरा गरेको छ ।

स्थापनाको समयमा नेपाली दाजुभाईहरुबीच रमाईलो र मनोरन्जनात्मक सूचनाहरु आदान प्रदान गर्ने उद्धेश्यका साथ स्थापना भएको यो समूह हाल सामाजिक कार्यको क्षेत्रमा सक्रिय भएको समूहको फेसबुक पेजमा उल्लेख छ ।

सन् २०११ डिसेम्बर ११ तारिखमा केहि नेपाली युवाहरु मिलेर स्थापना गरेका सो समूह हाल नेपालको सबैभन्दा लोकप्रिय फेसबुक समूहमा पर्दछ ।

केवल युवाहरुलाई मात्र आबद्ध गराईने सो समूहले विभिन्न स्थानहरुमा पुस्तकालय निर्माण तथा पुस्तक प्रदान, जाडोमा न्यायो कपडा बितरण, नाकाबन्दीको बेलामा स्वयंसेवाको रुपमा सवारी साधनबाट पिकअप गर्ने कार्यसमेत गरेका थिए ।

त्यसैगरी सो समूहले बाढि पिडितहरुलाई उद्धार तथा विभिन्न सहयोगको कार्यक्रम समेत आयोजना गरेको थियो ।

समूहले हाल नेपालमा आवश्यक पर्ने रक्तदाताहरुको जानकारी राख्नको लागि एमआरआर ब्लड डाटाबेस समेत तयार गरिरहेको छ ।

केहि समयअघि सदस्यताको विषयलाई लिएर विवादमा समेत आएको एमआरआर समूहको फेसबुक पेज करिब ५ दिनसम्म बन्द समेत भएको थियो । विवादलाई समाधान गर्दै पुन संचालनमा आएको सो समूहले छैटौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाई रहेको छ ।

एमआरआरले वार्षिकोत्सव पारेर समूहले नुवाकोट, बिराटनगर, पोखरा, चितवन, कैलालीलगायतका स्थानमा कार्यक्रम गरिरहेको समूहका एडमिन मनिष थापाले जानकारी दिए ।

मेन्स रुम रिलोडेड समूहमा हाल एक लाख भन्दा बढि सक्रिय सदस्यहरु आबद्ध रहेका छन् । समूहले सामाजिक कार्य लार्इ अगाडि बढाउन वेवसाइट पनि स‌ंचालनमा ल्याउन लागेकाे छ ।

प्रकाशित: २५ मंसिर २०७४, सोमबार

तपाइको प्रतिक्रिया