काठमाडौं ।
काठमाडौं, २८ कात्तिक । एप्पलले नयाँ आइफोनहरु सार्वजनिक गरेको केहि महिना मात्र भएको छ । तर कम्पनीले नयाँ आइफोन(iPhone) निर्माणको योजना गरिरहेको समाचार बाहिर आएको छ ।
कम्पनीले आगामी सन् २०१८ मा ल्याउने आइफोनको डिजाइन र साइजको बारेमा केजीआई सेक्यूरिटीले केहि भविश्यवाणी गरेको छ । सो रिपोर्टकाअनुसार एप्पलले ३ वटा ठूलो डिस्प्ले भएको आइफोन सार्वजनिक गर्नेछ ।
सो विश्लेषक मिङ्ग-ची कुओको रिपोर्टकाअनुसार कम्पनीले आइफोनमा ओएलइडी (OLED) र एलसीडी (LCD) प्यानल दूबै प्रयोग गर्नेछ । आगामी वर्ष आउने आइफोनमध्ये २ वटामा ओएलइडी र एउटा स्मार्टफोनमा एलसीडी प्यानल राखिनेछ ।
एप्पलले २०१८ मा सार्वजनिक गर्ने नयाँ आइफोन ५.८ इन्चको ओएलइडी डिस्प्लेसहितको आउने छ जून हालको आइफोन एक्सको अपडेटेड भर्सन हुनेछ । यस बाहेक कम्पनीले ६.५ इन्चकोे ओएलइडी डिस्प्ले भएको एउटा फोन ल्याउने छ भने ६.१ इन्च भएको एलसीडी डिस्प्ले सहितको आइफोन ल्याउने छ ।
अझ रोचक विषय भनेको यी तिनै वटा आइफोनहरुमा हालै सार्वजनिक गरेको आइफोन एक्सको जस्तै फुल स्क्रीन डिजाइनमा प्रयोग हुनेछ ।
कम्पनीले हालको आइफोन एक्सप्रति प्रयोगकर्ताहरुको आकर्षणका कारण डिजाइनमा परिवर्तन गर्न लागेको अनुमान गरिएको छ ।
अहिलेको आइफोन एक्समा नयाँ डिजाइन, फेस आइडी लगायतका विशेषताहरु छन् ।
केजीआइकाअनुसार ६.१ इन्चको एलसीडी डिस्प्ले भएको मोडलको मूल्य करिब ६४९ देखि ७४९ अमेरिकी डलर बराबर हुनेछ । यो मूल्य अहिलेको आइफोन एक्सभन्दा निकै कम मूल्य हो । आइफोन एक्सको मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ ।
आगामी वर्ष आउने आइफोनको सबै मोडलमा टच आइडी हटाइने छ र सबैमा फेस आइडी प्रयोग गरिने संभावना रहेको रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार