
काठमाडौं ।
काठमाडौं, १९ जेठ । डाटा सुरक्षामा नेपाल सरकार र सरोकार निकायले बेलैमा ध्यान दिन नसक्दा यसको जोखिमले राष्ट्रिय सुरक्षामै खतरा हुन सक्ने भन्दै इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) ले सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराएको छ।
यसका लागि सरकारका तर्फबाट रेनसमवेयर र साइबर सुरक्षाका लागि खतरा हुन सक्ने विभिन्न थ्रेटहरु र कसरी बच्ने भनेर आम मानिसलाई तत्काल सचेतना दिने कार्य गरिनुपर्ने भन्दै संस्थाले सूचना प्रविधि विभागलार्इ ध्यानाकर्षण गराएको हो।
संस्थाका अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालमा प्रयोग गरिने ७० देखि ८० प्रतिशत सफ्टवेयर, नेटवर्किङलगायतका प्रविधि कन्टामिनेटेड भएको तर धेरैले आफू कन्टामिनेटेड भएको थाहा नपाएका उल्लेख गरे।
संस्थाले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा सेक्युरिटी ग्यापलाई एनालाइसिस गर्ने वा अडिट गर्ने अभ्यास नै देखिएको छैन । सेक्युरिटीमा गरिने लगानीलाई अनवान्टेड चिजमा गरिएको बुझिन्छ । तसर्थ जेन्युन हार्डवेयर र सफ्टवेयर प्रयोगलाई बढावा दिन र सेक्युरिटीमा उच्चतम लगानी गर्न आवश्यक छ।
संस्थाले साइबर सुरक्षाको विषयमा निरन्तर अवेयरनेसको कार्यक्रम गर्ने, सरोकारवालालाई एउटै थलोमा निम्त्याएर छलफल गर्ने, पोलिसी रिभ्युमा आफ्नो धारणा राख्ने, ल इन्फोर्समेन्ट एजेन्सीसँग सहकार्य गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: १९ जेष्ठ २०७४, शुक्रबार