Technology Khabar १९ पुष २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १९ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुष १३ गतेदेखि आयोजना गरेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा १७ हजार भन्दा बढि स्मार्टफोन बिक्री भएको छ । संघका अनुसार अन्तिम दिनसम्म मेलामा १७ हजार भन्दा बढि स्मार्टफोनहरु बिक्री भएका हुन् ।
मोबाइलको मूख्य बजारको रुपमा रहेको न्यूरोडमा आयोजना भएको मोबाइल महोत्सवमा ५ लाख भन्दा बढि ग्राहकहरुले सहभागिता जनाएका थिए भने २० करोड रुपैंया भन्दा बढिको कारोबार भएको संघले जानकारी दियो ।
महोत्सवमा विशेष गरेर फोरजी प्रविधियुक्त स्मार्टफोनहरुको माग ग्राहकहरुले अधिक गरेका थिए भने फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकहरुको संख्या पनि उल्लेखनिय रहेको थियो । यहि आइतवारदेखि नेपालमा आएको फोरजी प्रविधिले गर्दा ग्राहकहरुले फोरजी फोन सेटहरुको बारेमा विशेष रुची र जानकारी लिएको संघले जनाएको छ ।
महोत्सवमा नेपालका सबै मोबाइल ब्राण्डहरुको सहभागीता रहेकोमा जोप्पो र लिएगो मोबाइल ब्राण्डले आफ्नो बिक्री शुरु भएको घोषणा गरेका थिए । मोबाइल कम्पनीहरुले विभिन्न किसिमका गेमहरु खेलाउँदै ग्राहकहरुलाई लक्की ड्रमार्फत मोबाइल फोन प्रदान गरेका थिए भने विभिन्न मोडलहरुको खरिदमा छुटका साथै आवश्यक एसेसरिज उपहारमा दिए ।
महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यस्तो किसिमको भव्य र ऐतिहासिक मोबाइल महोत्सव पहिलो पटक आयोजना गरिएको भन्दै आागामी दिनमा पनि ग्राहकहरुका लागि विभिन्न उपहार योजना ल्याउने बताए । हामी यो मोबाइल महोत्सवबाट उत्साहित भएका छौं, आगामी दिनमा पनि विभिन्न किसिमका उपहार योजनाहरु ग्राहकहरुका लागि ल्याउने छौं,” उनले भने ।
महोत्सवमा पाको यूथ क्लबलगायत अन्य संघ संस्थाको सक्रिय सहभागीता रहेको तथा स्थानियबासीले पनि सहयोग गरेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवका सह संयोजक आविष्कारलाल श्रेष्ठले महोत्सव अनुमान गरे भन्दा अत्यधिक सफल भएको बताए । उनले भने, “यो मोबाइल महोत्सवमा सबैको सहयोग र साथ पाएको हुँदा अपेक्षा गरेको भन्दा बढि व्यापार गर्न सफल भएका छौं ।”
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा सम्पन्न भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईएको थियो । त्यसैगरी ग्राहकहरुका लागि फुड जोन, गेमिंग जोन, किड्स जोनको पनि व्यवस्था गरिएको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १९ पुष २०७३, मंगलवार