Technology Khabar १८ पुष २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ पुस । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नेपाली बजारमा एमआई ५एस (Mi 5s) जनवरी ७ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल एमआई ५ एसको प्रि बुकिंग शुरु गरेको घोषणा पनि गरेको छ ।
शिओमी एमआई ५ एस नेपाली बजारमा यहि जनवरी ३ तारिखदेखि प्रि बुकिंग गर्न सकिने कम्पनीले जानकारी दिएकोछ । जनवरी ६ तारिखसम्म हुने प्रि बुकिंगमा ग्राहकहरुले रु. ४५ हजार ९ सय ९९ रुपैंयामा बुकिंग गर्न सक्नेछन् । प्रि बुकिंगको लागि शिओमी नेपालको आधिकारिक वेबसाइट www.xiaominepal.com.np/booking
कम्पनीले यहि जनवरी सात तारिखदेखि भने यसको मूल्य ४९ हजार ९ सय ९९ पुग्ने जानकारी दिएको छ । यो स्मार्टफोन एमआईका शोरुमहरु लबिम मल तथा न्यूरोडसहित अन्य रिटेलहरुमा उपलब्ध रहेको बताएको छ ।
शिओमी एमआई ५ एस नेपाली बजारमा ३ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेजसहित गोल्ड कलर भर्सनमा उपलब्ध हुनेछ । यसमा अतिरिक्त स्टोरेज थप गर्न मिल्दैन् ।
यो स्मार्टफोनमा ५.१५ इन्चको आइपीएस एलसिडी फूलएचडी डिस्प्ले राखिएको छ भने क्वालकम स्न्यापड्रागन ८२१ चिपसेट राखिएको छ । एन्ड्रोयडको ६.० मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित एमआईयूआई ८.० राखिएको यो फोन ड्यूल सिम सपोर्ट गर्दछ ।
फोटोका लागि १२ मेगापिक्सेलको अटोफोकस क्यामरा राखिएको छ भने सेल्फीका लागि ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
फिंगरप्रिन्ट सेन्सरसहित यसमा गाइरो, कम्पास, ब्यारोमिटरलगायतका सेन्सर छन् ।
कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, इन्फ्रारेड पोर्ट फिचर भएको यो फोनमा नन रिमूभल ३२०० एमएएचको ब्याट्री राखिएको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: १८ पुष २०७३, सोमबार