Technology Khabar ६ पुष २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, ६ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् ।
उद्योग मन्त्रालयले आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कुटनीतिक नियोगका प्रमुखसँगको बैठकमा उहाँले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।
नयाँ संविधान जारी भएसँगै मुलुकका सबै राजनीतिक दलहरु नेपालको अबको प्रमुख मुद्दा आर्थिक हो भन्ने विषयमा प्रष्ट रहेको उल्लेख गर्दै मन्त्री जोशीले उद्योग मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको बताए ।
बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि मन्त्रालयले उत्पादनमुलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नगरिने बताए ।
मन्त्री जोशीले अन्तरमन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकास मन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पारे ।
छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायतको सहभागीता थियो ।
उनीहरुले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐनपनि पनि चाडो ल्याउन जरुरी रहेको सुझाव दिए ।
प्रकाशित: ६ पुष २०७३, बुधबार