Technology Khabar १९ मंसिर २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ मंसिर । मोबाइल आयातकर्ता कम्पनीहरुले मोबाइल व्यवसायलाई मर्यादित र जिम्मेबार बनाउने उदेश्यका साथ मोबाइल फोन इम्पोर्टस् एसोशिएसनको (Mobile Phone Importers Association) गठन गरेका छन् । मोबाइल व्यवसायी दिपक मल्होत्राको अध्यक्षतामा गठन भएको एसोशिएसनले आइतवार पत्रकार सम्मेलन गरि संस्थाको बारेमा जानकारी दिएको छ ।
मोबाइल फोन व्यवसायको बिस्तारसँगै चुनौतीहरु पनि थपिएको र यसलाई समाधान गर्न संस्था गठन भएको जानकारी दिईयो । कार्यक्रममा अध्यक्ष मल्होत्राले यो क्षेत्रलाई पारदर्शी बनाई देशको आर्थिक तथा सामाजिक प्रगतिमा योगदान पुर्याउन संघ स्थापना भएको बताए । उनले भने, ‘नेपालमा काम गर्न संघ संगठन नभई नहुने देखेर संस्था बनाएका हौं । यो क्षेत्रमा देखिएको समस्यालाई संघले आागामी दिनमा सम्बन्धित निकायमा आवाज उठाउनेछ ।’
संघको उपाध्यक्षमा संघमा हाल २२ वटा आयातकर्ता कम्पनीहरु सदस्यको रुपमा कार्यरत रहेका र नेपालमा ४० वटा संस्थाहरुले मोबाइल फोनहरु आयात गर्ने गरेको संघका महासचिव अमित अग्रवालले जानकारी दिए । उनले मोबाइल्सखबरसँगको अनौपचारिक कुराकानीमा विभिन्न जनचेतनामुलक काम गर्न लागेको बताए । ‘हामी वैधरुपमा आयात भएका फोनमा संयुक्तरुपमा लोगो प्रयोग गर्ने बारे छलफल गरिरहेका छौं,’ उनले भने ।
त्यसैगरी संघका उपाध्यक्ष संजय अग्रवालले उक्त संघ ट्रेड युनियन वा सिमित व्यवसायीको लागि मात्र स्थापना नभएको दाबी गरे । उनले भने, ‘यो मस्कुलर पावर देखाउन वा सिमित व्यक्ति तथा व्यवसायीको लागि मात्र स्थापना भएको होईन् ।’
हाल देशभर ४,००० जति साना व्यापारी यो क्षेत्रमा आबद्ध रहेका र संघका सदस्य कम्पनीहरुमा मात्रै ३,२०० जनाले रोजगारी पाएका छन् । त्यसैगरी उक्त संघका सदस्य कम्पनीहरुबाट गत आवमा करिब २ अर्ब रुपैंया बराबरको राजस्व संकलन भएको जानकारी दिइयाे । संघका अनुसार हाल करिब २० देखि २५ अर्बको मोबाइल औपचारिक बाटोबाट आयात भईरहेको छ ।
संघमा हाल आईएमएसका प्रेसिडेन्ट दिपक मल्होत्रा अध्यक्ष, टेलिटक प्रालिका निर्देशक संजय अग्रवाल उपाध्यक्ष, लाइफ कम प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवाल महासचिव तथा सिजी मोबाइल्सका प्रबन्ध निर्देशक रमेश श्रेष्ठ कोषाध्यक्ष रहेका छन् ।
प्रकाशित: १९ मंसिर २०७३, आईतवार