
काठमाडौं ।
काठमाडौं, १२ मंसिर । नेपाल हस्तकला महासंघद्धारा मंसिर १० गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेकाे १४ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताकको दोश्रो दिन करिब ५० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् । मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब २ करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जानकारी दिएको छ ।
मेलामा ७ वटा पेभिलियन सहित १७८ वटा स्टलहरु रहेका छन् । अन्तर्राष्ट्रिय जगतबाट बंगलादेश, पाकिस्तान, चीनको स्वाशासित क्षेत्र तिव्बत र भुटानका प्रदर्शनकर्ताहरुले यस मेलामा भाग लिई रहेका छन् । मेलामा प्रत्यक्ष रुपमा मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व रहेको छ ।
विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले यस पटक महासंघद्वारा एउटा भिन्नै प्रस्तुतिको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनको अवधारणालाई समाबेश गरिएको छ ।
सोही बमोजिम शनिवार शेर्पा डे मनाईयो जसमा शेर्पाको सांस्कृतिक पहिचान झल्किने स्याब्रु नृत्य, सिलि र याक नृत्य शेर्पा सांस्कृतिक समाजद्वारा प्रस्तुति गरिएको महासंघले जनाएको छ ।
प्रकाशित: १२ मंसिर २०७३, आईतवार