भारुसम्म साट्नका लागि भारतसँग छलफल गर्नुपर्ने अर्थविदको भनाई

Technology Khabar २ मंसिर २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, २ मंसिर । नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाललाई पनि त्यसको प्रत्यक्ष असर परेको भन्दै त्यसको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । ‘अहिले पनि प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरले भारतीय पक्षसँग कुराकानी गरिरहनुभएको छ भन्ने कुरा आएको छ त्यो पर्याप्त देखिदैन ।’ उनले भने, ‘सरकारले यसबारे अझै प्रभावकारी कदम चाल्न आवश्यक छ ।’ भारतीय कदमबाट नेपालीहरुले विदेशी मुद्रा धेरै सञ्चय गरेर राख्न नहुने पाठ सिक्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै पुर्व गभर्नर एवम् अर्थविद् डा. तिलक रावलले भारतले त्यहाँको ठूलो पुराना नोट ‘अवमूल्यन’ गरेयता आफ्नै जनताको समस्या समाधान गर्न नसकिरहेका बेला नेपाल सरकारले पत्र पठाउने वित्तिकै सम्बोधन गर्छ भनेर अपेक्षा गर्न नसकिने बताए । ‘राष्ट्र बैंकले वा सरकारले पत्र लेख्नेवित्तिकै तुरुन्तै भारतले पैसा साटिदिन्छ भन्ने कुरा होइन’, रावलले भने, ‘त्यसैले पैसा साटिएन भनेर तुरुन्तै आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’

अर्थविद् डा. डिल्लीराज खनालले भारु नोटका विषयमा भारतले हालै चालेको कदम नौलो नभएपनि नेपालमा त्यसको प्रभाव गहिरो रुपले परेको औँल्याए । २५ हजारसम्म भारु नोट राख्न पाउने गरी सरकारले नै व्यवस्था गरेकाले उक्त परिमाणमा रकम साट्ने व्यवस्था मिलाईदिने दायित्व सरकारको भएको खनालको भनाई थियो । उनले भने, ‘अब सरकारले कसरी हुन्छ, नेपालीसँग भएको रकम साट्नको लागि भारतलाई सहमत गराउनुपर्छ ।’

कार्यक्रममा अर्थविद् डा. हरि रोकाले कुनै पनि राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरे । उत्तर प्रदेशसहित दुई ठूला प्रदेशमा हुन लागेको निर्वाचनमा विपक्षीबाट हुन सक्ने पैसाको चलखेल रोक्न र आफ्नो प्रभुत्व कायम राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्मार्ट पोलिटिकल मुभ’ (चलाखीपूर्ण राजनीतिक कदम) भएको उनको भनाई थियो ।  ‘भारतकै हितअनुकुल प्रतिबन्धित ५ सय र १ हजारका नोट नेपालमा चलाउन थालिएको थियो ।’ अर्थविद रोकाले भने, ‘पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताएपनि सीमा क्षेत्रका नेपालीसँग त्यो भन्दा पाँच गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।

प्रकाशित: २ मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया