
काठमाडौं ।
काठमाडौं, ११ कात्तिक । नेपालको उत्पादनमूलक तथा सेवा क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ सिएनआईले ‘परिसंघ प्रबुद्ध परिषद्’ को गठन सहित सोको शुभारम्भ गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त परिषदको घोषणा गरिएको हो ।
परिसंघ प्रबुद्ध परिषदको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै परिसंघ अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतिलाई तिब्रता दिन उपयुक्त नीति निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्र वीच विश्वासको वातावरण निर्माणमा यस परिषदबाट परिसंघलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग परिसंघलाई थप शसक्त गर्दै मुलुकको बदलिँदो राजनीतिक, आर्थिक एवम् औद्योगिक यथार्थतामा नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न समसामयिक एवम् नवीन सोच र दृष्टिकोणको केन्द्र विन्दु बनाउन सकियोस भन्ने उद्देश्यअनुरुप मुलुकका प्रशासनविद, अर्थविद, योजनाविद, आर्थिक कूटनीतिज्ञ, सुरक्षाविद र प्राज्ञिक क्षेत्रमा दिग्गज व्यक्तीत्व सम्मिलित ‘परिसंघ प्रबुद्ध परिषद’ (CNI Think Tank) गठन गरिएको जानकारी दिईयो ।
संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्ब स्थायी प्रतिनिधि/राजदूत एवं आर्थिक कुटनीतिज्ञ प्रा.डा. शम्भुराम सिम्खडाको संयोजकत्वमा गठन गरिएको उक्त प्रबुद्ध परिषदका अन्य सदस्यहरुमा शंकरप्रसाद कोइराला, उमाकान्त झा, डा. शंकरप्रसाद शर्मा, प्रा.डा. गोविन्द राज पोखरेल, डा. बिन्दु लोहनी, पुरुषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्रा.डा. सुवास के.सी., हिमालय थापा, डा. गोविन्द प्रसाद थापा, प्रा.डा. मीना वैद्य मल्ल र डा. विश्व पौडेल छन् ।
अर्थतन्त्रलाई गतिशील पार्नका लागि परिसंघ प्रबुद्ध परिषदले आगामी दिनहरुमा परिसंघमार्फत सरकारमा उपयुक्त दृष्टिकोण, नीतिगत विश्लेषण र पैरवी गर्ने बताईएको छ ।
प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार