Technology Khabar ३ कार्तिक २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, ३ कात्तिक । ह्वावेले मिड रेन्जको नयाँ स्मार्टफोन अनर सिक्स एक्स (Honor 6X) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
ह्वावे अनर सिक्स एक्स स्मार्टफोनको विशेषता भनेको यसमा रहेको ड्यूल क्यामरा सेटअप हो । यसमा १२ मेगापिक्सेलको ड्यूल क्यामरा सिस्टम पछाडिको भागमा राखिएको छ जसमा ६पी लेन्स रहेको छ भने अर्को क्यामरा २ मेगापिक्सेल सेन्सरसहितको रहेको छ । त्यसैगरी फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको रहेको छ ।
ह्वावेको नयाँ स्मार्टफोनमा ५.५ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल रहेको छ । त्यस्तै यसमा २.१ गीगाहर्जको अक्टा कोर किरिन ६५५ प्रोसेसर छ भने ३ जीबी र ४ जीबी र्यामको छुट्टाछुट्टै मोडल रहेको छ । त्यसैगरी आन्तरिक स्टोरेजमा पनि ३२ जीबी र ६४ जीबीको स्टोरेज अप्सन रहेको छ । ३ जीबी र्यामका साथमा ३२ जीबी तथा ४ जीबी र्यामका साथमा ६४ जीबी मोडल रहेको छ । दुबै मोडलमा माइक्रो एसडी कार्डद्धारा स्टोरेज बढाउन सकिन्छ ।
यो स्मार्टफोनको डिस्प्ले २.५ डी कभ्र्ड ग्लाससहितको छ भने यसको बाहिरी भाग अल मेटालिक रहेको छ भने यसको मोटाई ८.२ मिलिमिटर तथा तौल १६२ ग्राम रहेको छ ।
एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा आधारित इमोशन यूआई ४.१ राखिएको यो स्मार्टफोनमा ३३४० एमएएचको ब्याट्री रहेको छ ।
यसमा फिंगरप्रिन्ट सेन्सर पछाडिको भागमा रहेको छ भने ड्यूल सिम सपोर्ट, फोरजी एलटिई, वाईफाई, जीपीएस लगायतका विशेषताहरु छन् ।
यो फोन ग्रे, सिल्भर, गोल्ड, रोज गोल्ड तथा नाभी कलर अप्सनमा उपलब्ध हुनेछ । चीनियाँ बजारमा ३ जीबी र्याम ३२ जीबी स्टोरेजको मूल्य ९९९ यूआन अर्थात करिब १४९ अमेरिकी डलर ताथ ४ जीबी र्याम ३२ जीबी स्टोरेज मोडलको मूल्य १२९९ यूआन अर्थात करिब १९३ डलर तथा ४ जीबी र्याम ६४ जीबी स्टोरेजको मूल्य २३८ अमेरिकी डलर रहेको छ ।
यो स्मार्टफोन यहि अक्टोबर २५ तारिखदेखि चीनमा किन्न सकिन्छ ।
फोन किन्न दर्ता गर्नेहरुको संख्या १० लाख
यसैबिच यो फोन सार्वजनिक गरिएको १ दिनमा नै फोन किन्ने दर्ता गर्नेहरुको संख्या १० लाख नाघेको छ । यो सबै दर्ता गर्ने संख्याले फोन नकिने पनि यो अनर सिक्स एक्सका लागि भने निकै उत्साहित विषय हो । यो फोन किन्नका लागि अक्टोबर २५ तारिखसम्म दर्ता गर्न सकिने सुविधा छ ।
यसअघि ह्वावेको अनर ८ स्मार्टफोनको लागि यस्तो दर्ता संख्या अत्यधिक देखिएको थियो । अनर ८ स्मार्टफोन सार्वजनिक हुँदा खरिद दर्ता संख्या ५० लाख नाघेको थियो ।
प्रकाशित: ३ कार्तिक २०७३, बुधबार