Technology Khabar १० आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १० असोज । यूवा उद्यमीहरुको संगठन इन्टरप्रेन्यूर्स अर्गनाइजेशन नेपाल शाखाले ग्लोवल स्टुडेन्ट इन्टरप्रेन्यूर्स अवार्ड नेपालका लागि आवेदन खुला गरेको छ । कार्यक्रम, नेपाल उद्योग वाणिज्य महासंघमा रहेको यूवा उद्यमी मंचसंगको सहकार्यमा हुन लागेको बताईएको छ ।
यो जीएसइए, स्नातक अध्ययन गरिरहेका यूवा उद्यमीहरुका लागि ल्याइएको कार्यक्रम हो भने उद्यमशीलताको पहिलो खुड्किलो चढेका विद्यार्थीहरुका लागि कार्यक्रमले अनुभवी र अति विशिष्ठहरुसंगको सम्वन्ध जोड्ने अवसर प्रदान गर्ने संगठनले जनाएको छ ।
जीएसइएको अन्तिम घोषणा कार्यक्रम आगामी डिसेम्बर १५, २०१६ का दिन काठमाडौंमा हुनेछ भने नेपालमा अवार्डका लागि फर्म वुझाउने अन्तिम म्याद नोभेम्बर १५, २०१६ तोकिएको छ । प्रतिष्ठित कलेजबाट स्नातक अध्ययन गरिरहेका विद्यार्थीहरुले कार्यक्रममा सहभागी हुन सक्नेछन् । साथै प्रारम्भमा विद्यार्थीहरु कम्तीमा ६ महिनादेखि कुनै आयमुलक उद्यममा सहभागी भएको हुनुपर्ने छ ।
आवेदन छनौट पछि चुनिएका विद्यार्थीहरुले निर्णायक मण्डलका सामुन्ने आफ्नो उद्यमशीलता सम्बन्धी योजना प्रस्तुत गर्ने अवसर पाउने छन् । अवार्ड जित्ने यूवा विद्यार्थी उद्यमीले नगद रु ५०,००० हजार जित्नुका साथै जर्मनीमा हुन लागेको जीएसइएको विश्व प्रतिस्पर्धामा भाग लिनुका साथसाथै नगद ४०,००० अमेरिकी डलर तथा विभिन्न व्यवसायिक सेवाहरु सहित पुरष्कार जित्ने अवसर समेत पाउने छन् ।
यो ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको प्रतिस्पर्धात्मक कार्यक्रम हो । अमेरिकाको सेन्ट लुईस विश्वविद्यालय अन्तरगतको जोन कुक स्कूल अफ विजनेशमा सन् १९९८ बाट शुरु गरिएको यो कार्यक्रम अन्तरगत, उक्त विश्वविद्यालयले यस कार्यक्रम अन्तरगत छनौट भएर प्रशिक्षित भई सफलरुपमा आफ्नो व्यवसाय संचालन गरेका उत्कृष्ठ विद्यार्थीलाई विश्वविद्यालय अध्ययनको अवसर समेत दिने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १० आश्विन २०७३, सोमबार