Technology Khabar ३ आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ३ असोज । चीनियाँ ब्राण्डका स्मार्टफोन नेपालमा सार्वजनिक हुने क्रममा अर्को ब्राण्ड मेजू (Meizu) नेपाल भित्रिएको छ । कम्पनीले सोमबार एक कार्यक्रमकाबिच औपचारिकरुपमा नेपालमा मेजूका फोनहरु नेपाली बजारमा आएको घोषणा गरेको छ ।
मेजू टेक्नोलोजीले नेपाली बजारमा मेजू एम ३ नोट (Meizu M 3 Note) तथा मेजू एम ३ एस (Meizu M 3s) स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीका साउथ एसिया मार्केटिंग प्रमुख लिआन जांगले दुई स्मार्टफोनहरु बजारमा आएको घोषणा गरेका हुन् । उनले नेपाली बजारमा मेजूका फोनहरुको बिक्रीपछिको सेवामा पनि ध्यान दिने जानकारी दिए । उनले नेपाली बजारमा मेजू एम ३ नोटको तीनवटा कलर अप्सन उपलब्ध हुने बताए ।
नेपाली बजारमा मेजूका स्मार्टफोनहरु उबिक्यूटि नेपाल प्रालिले आधिकारिकरुमा बिक्री बितरण गर्नेछ । कम्पनीले नेपालमा मेजूका उत्पादनहरु बिक्री बितरणका साथै बजारीकरण पनि गर्ने जनाएको छ ।
कम्पनीले नेपाली बजारमा ल्याएका मेजू एम ३ नोट तथा मेजू एम ३ एस स्मार्टफोनहरु मिड रेन्जका स्मार्टफोनहरु हुन् । यी फोनहरुका साथै कम्पनीले छिटै मेजू एमएक्स सिक्स पनि ल्याउने जानकारी दिएको छ । कम्पनीले उक्त स्मार्टफोन डिस्प्लेमा भने राखिएको जानकारी दिएको छ ।
कार्यक्रममा उबिक्यूटि नेपालका प्रबन्ध निर्देशक अमित्रा शर्माले नेपाली बजारमा हामी क्रमश बिस्तार गर्दै जाने र केहि दिनभित्र नै नारायणघाट र पोखरामा पनि यो फोन उपलब्ध गराउने जानकारी दिए । उनले भने, “हामी क्रमशः नेपालका प्रमुख शहरहरुमा मेजू स्मार्टफोन सार्वजनिक गर्नेछौं ।”
मेजू एम ३ नोटको विशेषता
मेजू एम ३ नोटमा २.५डी ५.५ इन्चको फूलएचडी स्क्रीन राखिएको छ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । 
मेटल यूनिबडिसहितको यो स्मार्टफोनमा १.८ गीगाहर्जको मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसर राखिएको छ भने ग्राफिक्सका लागि माली टी ८६० राखिएको छ ।
फोटोका लागि मेजू एम ३ नोटमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
ड्यूल सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा पावरका लागि ४,१०० एमएएचको ब्याट्री राखिएको छ ।
मेजू एम ३ एस स्मार्टफोनको विशेषता
मेजू एम ३ एस स्मार्टफोनमा पनि २.५ डी कब्र्ड ५.५ इन्चको एचडी स्क्रीन राखिएको छ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
यो फोनमा १.८ गीगाहर्जको मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसर राखिएको छ भने ग्राफिक्सका लागि माली टी ८६० राखिएको छ ।
फोटोका लागि मेजू एम ३ एस स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
कम्पनीले नेपालमा भित्र्याएका मेजूका दुबै स्मार्टफोनहरु बजारमा ग्रे, सिल्भर र गोल्डेन कलर अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले नेपाली बजारमा मेजू एम ३ नोटको मूल्य रु २४,९९५ तोकेको छ भने मेजू एम ३ एस स्मार्टफोनको मूल्य रु. २१,४९५ तोकेको छ ।
मेजूले चीन, भारत, हंगकंग,रसिया, यूरोपेली देशहरुलगायतमा मोबाइल फोनहरु बिक्री गर्दै आएको छ ।
प्रकाशित: ३ आश्विन २०७३, सोमबार