
काठमाडौं ।
काठमाडौं, २ असोज । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)कोअध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्वाचित भएका छन् । पूर्व उपाध्यक्षसमेत रहेका कसजु अध्यक्षमा निर्बाचित भएका हुन् । फ्यानको २४ औं साधारण सभामा भएको निर्बाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी संचालन गर्दै आएका छन् ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो ।
आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन । फ्यानको नयाँ बिधानअनुसार यो पटक बरिष्ठ उपाध्यक्ष र सचिब पद थपिएपछि १३ सदस्यीय कार्यसमितीले पूर्णता पाएको छ ।
फ्यानको अध्यक्ष निर्वाचत भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले फुलको आयात घटाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो मुल कार्यभार भएको समेत बताएका थिए ।
नेपालमा व्यवसायिक रुपमा पुष्पको खेती गर्ने किसान र बिक्रि गर्ने व्यवासायीहरुको साझा संस्था फ्यान हो । एसोशिएसनका अनुसार २०११ सालदेखि सामान्य रुपमा सुरु भएको पुष्प व्यवसाय हाल नेपालको ३९ जिल्लामा फैलिएको छ । व्यवसायिक रुपमा हाल एक सय ४७ हेक्टर क्षेत्रफलमा पुष्पको उत्पादन भइरहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४१ हजारभन्दा बढी किसान लागेको यो क्षेत्रले करिब डेढ अर्ब मूल्य बराबरको बर्षेनी कारोबार गर्दै आएको छ ।
प्रकाशित: २ आश्विन २०७३, आईतवार