Technology Khabar २३ भाद्र २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, २३ भदौ । “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” शुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा सुरु भएको प्रदर्शनीको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गर्दै ईन्फरमेशन टेक्नोलोजीलाई रोजगारीका दृष्टिकोणले मात्रै नहेरी व्यवहारगत दृष्टिकोणले पालना गर्नुपर्ने बताए । नेपाली भाषाको जगेर्ना र प्रवद्र्धनका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने वताउदै मन्त्री कार्कीले ईन्टरनेटको विस्तारसँगै दुरुपयोग पनि रोक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघमा आबद्ध वस्तुगत संघमध्ये क्यान महासंघले उदाहरणीय काम गरिरहेको वताउनु हुँदै अरु संघहरुले पनि यसबाट पाठ सिक्नुपर्ने वताउनु भयो ।
दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले संचार प्रविधिको अहिलेको अवस्था काठमाडौं केन्द्रित भएको भन्दै ग्रामिण क्षेत्रसम्म पहुँच विस्तार गर्नुपर्ने धारणा राखे । ब्रोडब्याण्ड नीति र आइसीटी नीति बनि सकेको वताउनु हुँदै झाले त्यसको प्रभावकारी कार्यान्वयनमा लागेको जानकारी दिए ।
क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधिको विकास ग्रामीण भेगसम्म विस्तार नभएसम्म क्यान महासंघले बोकेको ई–नेपालको परिकल्पना साकार नह्ने बताए । अध्यक्ष ढकालले भने– “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी ई–नेपालका बनाउन सक्छौं ।”
कमटेक प्रदर्शनीमा विशेषगरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु उल्लेखनिय सहभागिता रहेको छ । सुबिसुले क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष आकर्षक योजना ल्याएको छ । यसै गरि सामसुङले नेपालका लागि जे सिरिजका फोनहरु सार्वजनिक गरेका छन् । त्यस्तै वेभसर्फरले उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रस्तुत गरेको छ । नेपाल टेलिकमले रु. ५०/– मा रु. ५०/– कै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ ।
प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् ।
यसैबीच प्रदर्शनीको पहिलो दिन ३९ हजार १६७ जनाले मेलाको अवलोकन गरेका १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरेको जारी विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।
प्रकाशित: २३ भाद्र २०७३, बिहीबार