Technology Khabar १९ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ भदौ । एसरले विश्वको सबैभन्दा पातलो ल्यापटप स्विफ्ट सेभेन (Swift 7) सार्वजनिक गरेको छ । ताइवानी कम्पनी एसरले आईएफए २०१६ मा एक सेन्टिमिटरभन्दा पनि पातलो ल्यापटप सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त शोमा विण्डोज १० मा आधारित रहेको स्विफ्ट सेभेन ल्यापटप सार्वजनिक गरेको हो जसको मोटाई केबल ९.९ मिलिमिटर मात्र रहेको छ । एसरको यो ल्यापटपमा १३.३ इन्चको फूलएचडी गोरिल्ला ग्लास स्क्रीन राखिएको छ भने यसको तौल केबल १.१ किलोग्राम मात्र छ ।
यो ल्यापटप निकै पातलो भएपनि यसमा राखिएको हार्डवेयर उच्च तहको छ । यो ल्यापटपको बडि एल्मुनियमको छ भने यसमा इन्टेलको सातौं पुस्ताको कोर आई फाईभ काबी लेक (7th Generation Core i5 Kaby Lake) प्रोसेसर राखिएको छ । यसमा विशेष किसिमको कुलिंग प्रविधि छ जसले यो ल्यापटपलाई तात्न दिँदैन् ।
एसरको नयाँ ल्यापटपमा ८ जीबी र्यामका साथमा २५६ जीबीको एसएसडी स्टोरेज छ । यसमा दुईवटा यूएसबी टाइप सी-पोर्ट छ जसले चार्ज गर्न तथा हेडफोन पोर्टका लागि प्रयोग गर्न सकिन्छ ।
यो नयाँ ल्यापटपको अर्को विशेषता भनेको यसमा रहेको फराकिलो टचप्याड हो, यसको टचप्याड सामान्य ल्यापटपहरुमा रहने भन्दा निकै फराकिलो रहेको छ ।
एसरको स्विफ्ट सेभेन ल्यापटप यहि सेप्टेम्बरदेखि यूरोपमा उपलब्ध हुनेछ जसको मूल्य १,२९९ यूरो तथा अमेरिकी बजारमा ९९९ डलर तोकिएको छ ।
प्रकाशित: १९ भाद्र २०७३, आईतवार