Technology Khabar १९ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ भदौ । सोनीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनहरु एक्सपेरिया एक्सजेड तथा एक्सपेरिया एक्स कम्प्याक्ट सार्वजनिक गरेको छ । कम्पनीले बर्लिनमा जारी आईएफएमा एक्स सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको एक्सपेरिया एक्सजेड (Xperia XZ) तथा प्रिमियम एक्सपेरिया एक्स कम्प्याक्टमा (Xperia X Compact) यसअघिका संस्करणहरुभन्दा सुधार गरिएका छन् ।
कम्पनीका दुई स्मार्टफोन सार्वजनिक गर्दै सोनी मोबाइल कम्यूनिकेसन्सका ग्लोबल सेल्स एण्ड मार्केटिंग भाइस प्रेसिडेन्ट हिडोकी फुरुमीले भने, “एक्सपेरिया एक्सजेड तथा एक्सपेरिया एक्स कम्प्याकका साथमा तपाईँले हरेक देखेको क्षणलाई समाउन सक्नुहुनेछ । दिन वा रात होस यसले सहि रंगहरुको साथमा उत्कृष्ट तस्विर दिनेछ यसको लागी हाम्रो नयाँ ट्रिपल इमेज सेन्सिंग टेक्नोलोजीलाई धन्यवाद दिन्छु ।”
सोनीले ल्याएका यी दुबै फोनहरुमा क्यामरा टेक्नोलोजीमा सुधार गरिएको छ । कम्पनीले यी नयाँ मोडलहरुमा अत्यधिक आधुनिक क्यामराहरु प्रयोग गरिएको दाबी गरेको छ । सोनीले यसको क्यामरालाई शक्तिशाली बनाउन थप दुईवटा अतिरिक्त सहायक सेन्सरहरु प्रयोग गरेको छ । यसले फोटोहरुलाई धुमिल नबनाई खिच्न सक्ने बताईएको छ । सोनीको दुबै स्मार्टफोनमा २३ मेगापिक्सेलको मुख्य क्यामरा राखिएको छ जसले हिँड्दा हिँड्दै पनि ‘स्मूथ भिडियो’ खिच्न सक्ने दाबी छ । सेल्फीका लागि एक्सपेरिया एक्सजेडमा १३ मेगापिक्सेलको क्यामरा राखिएको छ भने एक्सपेरिया एक्स कम्प्याक्टमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । सोनीको यो स्मार्टफोनले फोर के भिडियो रेकर्डिग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
एक्सपेरिया एक्सजेड (Xperia XZ)
एक्सपेरिया एक्सजेड फोनमा ५.२ इन्चको डिस्प्ले राखिएको छ भने पछाडिको भागमा मेटल प्रयोग गरिएको छ । यो स्मार्टफोन फोरेस्ट ब्लू, क्लासिक मिनरल ब्ल्याक तथा प्लाटिनम कलर अप्सनमा उपलब्ध हुनेछ । यो स्मार्टफोन क्वालकम स्न्यापड्रयागन ८२० प्रोसेसरद्धारा संचालन हुन्छ ।
यो फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज छ, जसलाई बढाएर २०० जीबीसम्म पुर्याउन सकिन्छ । त्यसैगरी यसमा २,९०० एमएएचको ब्याट्री प्याक छ भने क्वालकमको क्विक चार्ज प्रमाणित प्रविधि प्रयोग गरिएको छ । कम्पनीले यसमा क्यापलेट यूएसबी टाइप सी पोर्ट राखेको छ भने यो फोनले आईपी ६५, आईपी ६८ प्रमाणपत्र प्राप्त गरेको छ, अर्थात यो फोन डस्ट एण्ड वाटर प्रुफ रहेको छ ।
एक्सपेरिया एक्स कम्प्याक्ट (Xperia X Compact)
सोनीले सार्वजनिक गरेको अर्को स्मार्टफोन एक्सपेरिया एक्स कम्प्याक्टमा ४.६ इन्चको एचडी डिस्प्ले राखिएको छ । यो फोन मिन्ट ब्लू, यूनिभर्सल ब्ल्याक तथा स्ट्यालिस ह्वाइट कलरमा उपलब्ध हुनेछ । यो स्मार्टफोनमा पनि ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज छ, जसलाई बढाएर २०० जीबीसम्म पुर्याउन सकिन्छ । यो फोनमा २,७०० एमएएचको ब्याट्री राखेको छ तर यो फोन भने डस्ट एण्ड वाटरप्रुफ छैन् ।
कम्पनीले दुबै मोडलहरुमा न्यू ब्याट्री केयर फीचर राखेको छ । यो फीचरले ९० प्रतिशत ब्याट्री चार्ज भईसके पछि ब्याट्री चार्जिंगलाई रोक्दछ र आवश्यकता भएको बेलामा मात्र पुरा चार्ज दिनेछ ।
सोनीका सार्वजनिक भएका स्मार्टफोनहरुमध्ये एक्सपेरिया एक्सजेड अक्टोबरदेखि बजारमा आउनेछ भने एक्सपेरिया एक्स कम्प्याक्ट भने सेप्टेम्बरमा नै उपलब्ध हुनेछ । यसमध्ये एक्सपेरिया एक्सजेड सिंगल सिम तथा ड्यूल सिम संस्करणहरुमा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १९ भाद्र २०७३, आईतवार