
काठमाडौं ।
काठमाडौं, १३ भदौ । केहि समयअघि रिंगिंग बेल्स नामक कम्पनीले विश्वको सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा फ्रिडम २५१ सार्वजनिक गरेर निकै चर्चा कमायो । तर कम्पनीले उक्त स्मार्टफोन बजारमा ल्याउन नसकेपछि यो विषय धोकाधडी भएको भन्दै निकै आलोचना भयो ।
अब फेरी भारतीय बजारमा यस्तै सस्तो स्मार्टफोनको रुपमा उच्चतहको स्पेशिफिकेसनसहितको स्मार्टफोनको घोषणा भएको छ । हाल भारतीय बजारमा अधिक विशेषताहरुसहितको स्मार्टफोन निकै सस्तो मूल्यमा च्याम्पवान (ChampOne) नामक कम्पनीले सार्वजनिक गरेको छ । च्याम्पवानले च्याम्पवान सि वान (ChampOne C1) नामक स्मार्टफोन भारतमा केबल भारु ५०१ अर्थात करिब ८०० रुपैंयामा नै उपलब्ध गराउने दाबी गरेको छ ।
कम्पनीले यो स्मार्टफोन अनलाइनमा फ्ल्याश सेलबाट मात्र बिक्री गर्ने जानकारी दिएको छ । यसको स्मार्टफोन सामान्य बजेट फोनहरुको भन्दा पनि आकर्षक रहेको छ ।
कम्पनीको आधिकारिक वेबसााइटमा राखिएको जानकारीअनुसार यो स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ । यसमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज रहेको छ । फोरजी एलटिई सपोर्ट गर्ने च्याम्पवान स्मार्टफोनमा ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
एन्ड्रोयडको ५.१ ललीपप अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा २,५०० एमएएचको लिपो ब्याट्री राखिएको छ । त्यसैगरी यसमा मिडियाटेकको १.३ गीगाहर्जको क्वाडकोर प्रोेससर छ भने क्वीक चार्ज प्रविधि राखिएको छ । यति सस्तो स्मार्टफोनमा पनि कम्पनीले फिंगरप्रिन्ट सेन्सर उपलब्ध गराएकोछ ।
कम्पनीले यो स्मार्टफोन फ्ल्याश सेलमा किन्नका लागि प्रि-रजिस्ट्रेशन गर्नुपर्ने जनाएको छ । यसको लागी पहिले नै दर्ता भएका ग्राहकहरुका लागि मात्र यहि सेप्टेम्बर २ तारिखमा फ्ल्याश सेल हुने कम्पनीको वेबसाइटमा उल्लेख छ ।
कम्पनीले वेबसाइटमा राखेको जानकारीअनुसार च्याम्पवान सी वान स्मार्टफोनको मूल्य भारु ७,९९९/- भएपनि केबल भारु ५०१ मा किन्न सकिने दाबी गरेको छ ।
कम्पनीको लोगो हेर्दा करिब करिब पुरानो माइक्रोम्याक्सको लोगोको याद आउँछ ।
यो स्मार्टफोनको बिक्रीको बारेमा भारतीय बजारमा निकै चर्चा भएको छ । कतै यो स्मार्टफोन पनि यसअघिको रिंगिंग बेलजस्तै भ्रामक र झुटो त हुने होईन भने आशंका पनि उब्जिएको छ । तर यो स्मार्टफोनको बिक्रीको दिनमा नै यसको बारेमा स्पष्ट हुनेछ ।
प्रकाशित: १३ भाद्र २०७३, सोमबार