Technology Khabar ६ भाद्र २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ भदौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा सुजुकी भिटारा ब्रेजा भित्र्याएको छ । कम्पनीले नयाँ कारको बुकिङ समेत खुल्ला गरिएको जानकारी दिएको छ । भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । कम्पनीका अनुसार नयाँ कार ६ भिन्न भेरिएण्ट उपलब्ध हुनेछन् ।
कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्याएको हो । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ ।
उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ ।
कारमा आन्तरिक सजावटका लागि पियानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।
कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ६ भाद्र २०७३, सोमबार