Technology Khabar २० श्रावण २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, २० साउन । सामसंगले आफ्नो प्रिमियम तहको फ्ल्यागशिप ग्यालेक्सी नोट सेभेन सार्वजनिक गरेको केहि दिन नबित्दै कम्पनीको नयाँ स्मार्टफोनको बारेमा जानकारी आएको छ । तर यो स्मार्टफोन मिड रेन्जको स्मार्टफोन भएको बताईएको छ ।
सामसंगले ए श्रेणीका स्मार्टफोनको संख्याहरु बढाउँदै लगेको छ । ए सिरिजका स्मार्टफोनहरुप्रति बढ्दो सकारात्मक प्रतिकृयाका कारण कम्पनीले ए सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले यसैबिचमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए फोर (Galaxy A4) ल्याउन लागेको अनुमान गरिएको छ ।
नयाँ आउन लागेको स्मार्टफोनले हालै वाई-फाई सर्टिफिकेशन प्राप्त गरेको छ । यो स्मार्टफोनको बारेमा भारतीय आयात लिस्ट वेबसाइट जौवामा जानकारीहरु लिक भएको छ । वाई-फाई सर्टिफिकेशन लिस्टकाअनुसार ५ वटा मोडलहरुले यो लाइनअपमा वाई-फाई प्रमाणीत भएका छन् । यसमध्येको एसएम ए ४३०एफडी (SM-A430FD) यसको सहि मोडल नम्बर हो जसको सबैभन्दा पछाडिको अंकले कुन टेलिकम क्यारियरसँग आउन लागेको जानकारी दिन्छ ।
भारतीय आयात लिस्ट वेबसाइट जौवामा भएको जानकारीअनुसार यो स्मार्टफोनको मूल्य भारतीय बजारमा भारु २५,००० देखि भारु ३०,००० सम्म हुनेछ । त्यस्तै यो स्मार्टफोन मेटल यूनिबडि डिजाइनमा आउने छ भने ग्यालेक्सी ए सिरिजको ट्रेडमार्क रहनेछ ।
यसअघि सार्वजनिक भएको जानकारीअनुसार ग्यालेक्सी ए फोर स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले हरने छ भने यसमा ३ जीबीको र्याम, सामसंगको एक्सनोज प्रोसेसर, १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनसक्ने छ । त्यसैगरी यसमा ३,००० एमएएचको नन रिमुभेवल ब्याट्री तथा एन्ड्रोयडको मार्शमाल्लोमा आधारित भएर संचालन हुने बताईएको छ ।
प्रकाशित: २० श्रावण २०७३, बिहीबार