Technology Khabar ३१ असार २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ३१ असार । अमेरिकी चेन रेस्टुरेन्ट पिज्जा हटले आफ्नो विभिन्न उत्पादनहरुको अर्डर गर्नका लागि सोशल सेवा चाटबोट (Chatbot) प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले छिटै आफ्ना खाद्य सामाग्री उत्पादनहरुको मेनू अन्तरक्रियात्मक चाटबोटमा ल्याउने भएको हो ।
चाटबोटमा ग्राहकहरुले सामाजिक मिडिया साइट फेसबुक र ट्विटरमा कुराकानीको माध्यमबाट खानाको अर्डर गर्न सकिन्छ । यो सुविधा अगस्ट महिनादेखि सबै पिज्जा हट सामाजिक अकान्टमा उपलब्ध हुनेछ, यो सेवाको शुरुवात सान फ्रान्सिस्कोमा २०१६ वेन्चरबीट मोबाइलबीट कन्फ्रेन्समा मुख्य डिजिटल अधिकारी वारेन कासर्सले एक प्रदर्शनको माध्यमबाट गरेका थिए ।
पिज्जाहटको रोबोट सर्भरहरुले फेसबुक म्यासेन्जर (Facebook Messenger) र ट्विटरमा (Twitter) तपाईँले लेखेको कुराकानीको आधारमा अर्डर लिनेछन् । तपाईँले बोटलाई तपाईँको नजिकको पिज्जाहटमा कुनै अन्य प्रबद्र्धनात्मक अफरहरुको बारेमा पनि सोध्न सक्नुहुनेछ भने खाद्य पदार्थहरुको बारेमा, कारोबार समय र डेलिभरी गर्ने स्थानको बारेमा पनि जानकारी दिनेछ ।
पिज्जा हटले यसको लागि कुनै थप शुल्क लिने छैन् । भने कम्पनीले अर्डरको सुनिचित गर्न कन्फर्मेसन म्यासेज पठाउनेछ ।
यो सुविधाका लागि पिज्जा हटले टेक्नोलोजी कम्पनी कन्भर्सेबलसँग पार्टनरसिप गरेको छ ।
के हो चाटबोट ?
चाटबोट फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जूकरबर्गले गत अप्रिलमा भएको एफ एट डेभलपर्स कन्फ्रेन्समा सार्वजनिक गरेका थिए । चाटबोटले आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गर्दछ र यसको आधारमा पहिले नै निर्धारित रेस्पोन्स गरेर इमेल लेख्ने, भ्रमण बुकिंग गर्ने अथवा खाना अर्डर गर्न सकिन्छ ।
प्रकाशित: ३१ असार २०७३, शुक्रबार