
काठमाडौं ।
काठमाडौं, २७ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने सेमिनार काठमाडौंमा शुरु भएको छ ।
उक्त सेमिनारको उदघाट्न गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने उल्लेख गरे । सार्क देशका राम्रा अभ्यासहरुको साथै समस्याहरुको आदान प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने बताए । यस दिशामा कर सम्बन्धी सन्धि सम्झौताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माणमा यसले थप सहयोग पुर्याउने उनले बताए ।
कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले एक अर्काबीचको सन्धि सम्झौताहरुले देशहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने बताउँदै यस क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी भैरहेको समेत बताईन् ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक चेतनाथ दाहालले नेपालको कर प्रणालीका विविध पक्षहरुको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए सातै देशका प्रतिनिधिहरुले आआफ्नो देशको कर प्रणाली तथा कर सम्वन्धी सम्झौताहरुको अवस्थाका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पाकिस्तान वाहेक सार्ककका सवै सात देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनार बुधवारसम्म संचालन हुनेछ ।
प्रकाशित: २७ असार २०७३, सोमबार