Technology Khabar ७ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ असार । अर्घाखाँची सिमेन्टले आफ्नो क्षमता विस्तार गर्दै आगामी दिनमा प्रति दिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने भएको छ । कम्पनीले डेढ वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त उत्पादन लक्ष्य डेढ वर्ष भित्र पुरा गर्ने जानकारी दिएको हो ।
रुपन्देहीको मैनहीयामा रहेको उद्योगमार्फत कम्पनीले क्लिंकर तथा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट (२४ हजार बोरा) उत्पादन गर्दै आएको जानकारी दिएको छ । यस कम्पनीमा सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) को लगानी रहेको छ ।
कम्पनीले जर्मन टेक्नोलोजीबाट क्लिंकर तथा सिमेन्ट उत्पादन गर्दै आएको तथा वातावरण मैत्री प्रविधि अपनाएको दाबी गरेकोछ ।
कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले छोटो समयमा नै आफ्नो गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जित्दै सफल भएको भन्दै देशकै नंबर एक सिमेन्ट बन्ने बताए ।
प्रकाशित: ७ असार २०७३, मंगलवार