Technology Khabar २१ जेष्ठ २०७३, शुक्रबार
काठमाडौं ।
काठमाण्डौं, २१ जेठ । सामसुंगले फिटनेस ट्रयाकिंग डिभाइस गियर फिट २ (Gear Fit 2) बजारमा ल्याएको छ। सामसुंगले ल्याएको गियर फिट २ यसअघि आएको गियर फिट (Gear Fit) कै परिस्कृत संस्करण हो ।
कम्पनीले नयाँ गियर फिटलाई थप सुधार गर्दै बजारमा ल्याएको हो । सामसुंगले गियर फिट २ मा जीपीएस (GPS) चीप लगाएको छ, जसले गर्दा यसको प्रयोगकर्ताले आफूले दौडेको र साइकलमा यात्रा गर्दाको अवस्थालाई ट्रयाक गर्न सक्नेछन् ।
यो डिभाइस निकै पातलो र आरामदायक रहेको छ भने दैनिक प्रयोग गर्दा सहज हुने विश्लेषकहरुको भनाई छ । गियर फिट २ मा १.५ इन्चको कर्भ्ड सूपर एमोलेड टचस्क्रीन डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन २१६x४३२ पिक्सेल रहेको छ ।
यसको डिस्प्लेले तत्कालको समय, हिँडदा चालिएको पाईला, वर्तमान गतिबिधी तथा कति क्यालोरी उत्सर्जन भयो भन्ने देखाउँछ । यसमा एक्सेलेरोमिटर, गाईरो, तथा ब्यारोमिटरका अलाबा हर्ट रेट मनिटर पनि राखिएको छ ।
यसमा राखिएको हर्ट रेट मनिटरका कारण यो डिभाइसले प्रयोगकर्ताले दौडदा, हिँड्दा, साइकल चलाउँदा, डुंगा चलाउँदा, अथवा कुनै अण्डाकार मेसिनमा शारिरिक व्यायाम गर्दा स्वचालितरुपमा ट्रयाक गर्नेछ । यो डिभाइस एस हेल्थ अवथा अन्य कुनैपनि फिटनेस ट्रयाकिंग एप्ससँग सिन्क्रोनाईज हुनेछ ।
गियर फिट २ मा १ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ भने यसमा ५१२ एमबीको र्यामका साथमा ४ जीबीको इन्टरनल स्टोरेज पनि उपलब्ध छ । यो डिभाइसलाई संचालन गर्नका लागि यसमा २०० एमएएचको ब्याट्री राखिएको छ ।
सामसुंगको यो डिभाइसले आईपी ६८ (IP-68) सर्टिफिकेट प्राप्त गरेको छ, अर्थात यो वाटर रेसिस्ट फिटनेट ट्रयाकर हो । यो टाइजेनमा आधारित रहेको छ भने यसले कनेक्ट रहेको स्मार्टफोनबाट पनि नोटिफिकेसन देखाउँछ ।
यसमा भएको ४ जीबीको स्टोरेजमा म्यूजिक पनि स्टोर गर्न सकिन्छ र त्यसलाई ब्लूटूथ हेडफोनद्धारा सुन्न सकिन्छ भने यसका लागि कुनै स्मार्टफोन चाहिँदैन् ।
यो ठूलो र सानो साइजमा उपलब्ध हुनेछ भने ब्ल्याक, ब्लू, र पिंक कलर अप्सनमा यहि जून १० तारिखदेखि उपलब्ध हुनेछ । कम्पनीले यसलाई १७९ अमेरिकी डलरमा बिक्री गर्नेछ ।
प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार