Technology Khabar ७ जेष्ठ २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ७ जेठ । सायद अधिकांश मोबाइल फोन प्रयोगकर्ताले नोकियाको नाम नै बिर्सिसके होला । कुनै समय मोबाइल फोनको विश्व बजारमा एक छत्र राज गरेको नोकिया ब्राण्ड अहिले अधिकांश मोबाइल प्रयोगकर्ताका लागि अपरिचित नाम हो ।
विश्व मोबाइल बजार र प्रयोगकर्ताको चाहनालाई बुझ्न नसक्दा विश्व बजारमा चर्चित रहेको नोकियाको ब्राण्ड अहिले हराएको हो । फिनल्याण्डको अन्तराष्ट्रिय ब्राण्ड नोकियाको ब्राण्डमा माइक्रोसफ्टले केहि समय विण्डोज फोनको रुपमा ल्याएपनि चल्न सकेन् । तर अब फेरी नोकिया ब्राण्डमा मोबाइल फोनहरु बजारमा आउने भएका छन् ।
नोकिया ब्राण्डमा पुन बजारमा मोबाइल फोनहरु ल्याउनका लागि नयाँ लाइसेन्स सम्झौता भएको छ । नोकिया ब्राण्डमा फोनहरु ल्याउन अर्को फिनिस कम्पनी एचएमडीलाई १० वर्षको लागि लाइसेन्स सम्झौता गरेको हो ।
सम्झौताअनुसार फक्सकनको सब्सिडरी कम्पनी एफआईएच मोबाइल लिमिटेडले नोकिया ब्राण्डमा फोन तथा ट्याबलेट उत्पादन गर्नेछ । यो डिलमा नोकिया टेक्नोलोजीजले एचएमडीमा कुनै शेयर हिस्सा खरिद गर्ने छैन् । नोकिया ब्राण्डको नाममा उत्पादनहरु ल्याए र सेल्यूलर स्ट्याण्डर्ड प्याटेन्ट लाइसेन्स प्रयोग बापत उत्पादक कम्पनीले रोयल्टी बुझाउनुपर्नेछ ।
एचएमडीका हुन लागेको प्रमुख कार्यकारी अधिकृत एर्टो नुमेलाकाअनुसार यस भेन्चरले नोकियाको परिचित नामलाई प्रयोग गर्नेछ । ‘हामी पूर्णरुपमा नोकिया ब्राण्डका मोबाइल फोनहरु, ट्याबलेटहरुको सम्पूर्ण श्रेणी सिर्जना गर्न ध्यान केन्द्रित गर्नेछौं । जसले उपभोक्ताहरुसँग पुन जोडिनेछ ।,’ उनले भने ।
एचएमडीले यो सम्झौतासँगै माइक्रोसफ्टबाट नोकिया ब्राण्ड फिचर फोनमा प्रयोग गर्न तथा निश्चित सम्बन्धित डिजाइन अधिकार लिन सहमती गरेको छ । यो सम्झौताले विश्व बजारमा हरेक प्रकारका नोकिया ब्राण्डका मोबाइल फोनहरु तथा ट्याबलेटका लागि विश्वव्यापी लाईसेन्स प्रदान गर्नेछ ।
माईक्रोसफले खरिद गरेको नोकिया हाल विण्डोज फोनको रुपमा आएपनि नयाँ आउने डिभाइसहरु भने एन्ड्रोयडको प्लेटफर्ममा निर्माण हुने बताईएको छ ।
नोकिया ब्राण्डलाई उपभोक्ताको चाहनाअनुसार बजारमा ल्याउन र यसको गुणस्तर, डिजाइन र अन्वेषणका लागि आवश्यक ब्राण्ड बनाउन एचएमडीको बोर्ड अफ डाइरेक्टर्समा नोकिया टेक्नोलोजीज्को प्रतिनिधि रहनेछन् ।
नोकियालाई पुन विश्व बजारमा ल्याउनका लागि एचएमडीले आगामी तीन वर्षमा ५०० मिलियन अमेरिकी डलरभन्दा बढि रकम यसको बजारीकरणलाई सहयोग गर्न खर्च गर्नेछ ।
प्रकाशित: ७ जेष्ठ २०७३, शुक्रबार