Technology Khabar २७ बैशाख २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, २७ वैशाख । सामसुंगले ग्यालेक्सी जे फाइभ (Galaxy J5) तथा ग्यालेक्सी जे सेभेनको (Galaxy J7) २०१६ एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । सामसुंगले मिड रेन्जको दुई वटा स्मार्टफोनहरु यूरोपेली बजारपछि भारतीय बजारमा सार्वजनिक गरेको हो ।
सामसुंगले ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको नयाँ एडिसन सबैभन्दा पहिले चीनमा गत महिना सार्वजनिक गरेको थियो भने त्यसपछि यूरोपेली मुलुकहरुमा उपलब्ध गराएको थियो ।
कम्पनीले भारतमा सार्वजनिक गरेपछि अन्य मुलुकहरुमा अब जे फाइभ तथा जे सेभेनको नयाँ एडिसन उपलब्ध गराउने तयारी पनि गरेको छ । यी दुबै मोडलका नयाँ एडिसनमा फीचरहरु थप गरिएका छन् । दुबै मोडलका फोनहरुमा र्यामको क्षमता बढाईएको छ भने ठूलो ब्याट्री साइज, फ्रन्ट फेसिंग क्यामरामा सुधारका साथै सन् २०१६ एडिसनमा सामसुंग पेका लागि एनएफसी चीप प्रयोग गरिएको छ ।
सामसुंगको ग्यालेक्सी जे सेभेन २०१६ [(J7 (2016)] एडिसनमा ५.५ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८० पिक्सेल रहेको छ । यसमा कम्पनीको आफ्नै प्रोसेसर एक्सनोज ७८७० राखिएको छ भने ३ जीबी र्यामका साथमा १६ जीबीको स्टोरेज रहेको छ । यसमा ३,३०० एमएएचको ब्याट्री रहेको छ । कम्पनीकाअनुसार यो फोनले ३५४ घण्टासम्मको स्ट्याण्डबाई दिन्छ ।
ग्यालेक्सी जे सेभेन २०१६ मा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ, दुबै क्यामराको अपार्चर एफ/१.९ छ भने दुबैतर्फ एलईडी फ्ल्याश राखिएकोछ ।
यसमा फोरजी एलटीई, एनएफसी, वाईफाई, ब्लूटूथ ४.१ भर्सन,जीपीएस तथा माइक्रो यूएसबी २.० राखिएको छ ।
त्यस्तै सामसुंग ग्यालेक्सी जे फाइभ २०१६ एडिसनमा ५.२ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२० पिक्सेल रहेको छ । यसमा स्न्यापड्रयागन ४१० प्रोसेसर राखिएको छ भने २ जीबी र्यामका साथमा १६ जीबी स्टोरेज रहेको छ । यसको ब्याट्री क्षमता ३,१०० एमएएच रहेको छ ।
ग्यालेक्सी जे फाईभ २०१६ मा पनि जे सेभेनको जस्तै १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ, दुबै क्यामराको अपार्चर एफ १.९ छ भने दुबैतर्फ एलईडी फ्ल्याश राखिएकोछ ।
सामसुंगको यी दुबै मोडलका फोनहरु भारतीय बजारमा बेस्ट सेलिंग स्मार्टफोनहरु हुन् । नयाँ एडिसनबाट कम्पनीले बजार बढाउन अझ सहयोग हुने अपेक्षा गरेको छ ।
भारतीय बजारमा सामसुंग ग्यालेक्सी जे फाईभ २०१६ को मूल्य १३,९९० भारु अर्थात २२,३८४ नेपाली रुपैंया तोकिएको छ भने ग्यालेक्सी जे सेभेन २०१६ को मूल्य १५,९०० भारु अर्थात २५,४४० नेपाली रुपैंया तोकिएको छ ।
दुबै फोन सेटहरु भारतीय बजारमा एक्सक्लुसिभ फ्लिपकार्टमा १० मे देखि उपलब्ध हुनेछ ।
प्रकाशित: २७ बैशाख २०७३, सोमबार