Technology Khabar २५ चैत्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौ, २५ चैत । सिँचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।
नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको समतल तराई हुँदै भारततिर बग्ने नदीहरु दुवै देशका लागि प्राकृतिक वरदानकै रुपमा रहेपनि वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्न दुवै देश संयुक्त रुपमा लड्नु पर्ने उल्लेख गरे । चुरे विनाशका कारण वर्षायाममा बाढी अनियन्त्रित भई दुवै देशलाई क्षति पुर्याउँदै आएकाले दुवै देश त्यसका लागि गम्भीर रुपमा सोच्नुपर्ने उनले बताए ।
सिँचाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले ३८ करोड ६२ लाख ६ हजारको चेक मन्त्री उमेश यादवलाई हस्ताक्षर गरे । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिसकेको छ । त्यसमध्ये बागमतीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलका लागि १६ करोड छुट्याएको छ ।
यसबाट बगमती ४० किलोमिटर, लालबकैया ६१ किलोमिटर र कमलाका लागि ६७ किलोमिटर तटबन्ध निर्माण कार्य भएको छ । भारत विहारको पटनामा बसेको नेपाल भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौं बैठकले यो सहयोगको बारेमा निर्णय गरेको थियो ।
प्रकाशित: २५ चैत्र २०७२, बिहीबार