Technology Khabar ४ चैत्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ४ चैत । एप्पलले यहि मार्च २१ तारिखमा आफ्नो बजेट आईफोन सार्वजनिक गर्ने विभिन्न समाचारहरु आई नै रहेका छन् । कम्पनीले बजेट फोनको रुपमा ल्याउन लागेको ४ इन्चको (आईफोन ५ एसई) आईफोन एसईको बारेमा मोबाइल्स् खबरले तपाईँहरुलाई नियमित जानकारी गराई नै रहेको छ ।
यहि बेला आईफोनको नयाँ आउन लागेको फोनलाई प्रतिस्पर्धा दिन अर्को कम्पनी सामसुंगले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको हल्लाहरु आएका छन् ।
यसअघि पनि सामसुंगले ग्यालेक्सी एस सिक्सको सानो साइजमा मिनी भर्सन ल्याउने चर्चाहरु चलेपनि कम्पनीले कहिले पनि आधिकारीकरुपमा मिनी भर्सन ल्याएन् ।

कोरियाली कम्पनी सामसुंगले ल्याएको एस सिरिजको मिनी ह्याण्डसेट भनेको ग्यालेक्सी एस ५ को मिनी भर्सन मात्रै हो । जुन अहिले निकै पुरानो भईसकेको छ । त्यसबेला सार्वजनिक भएको सामसुंगको ग्यालेक्सी एस फाइभ मिनी साइजमा मात्र नभएर स्पेसिफिकेशनको आधारमा पनि सानो रहेको थियो । अर्थात यसको सामान्य एस फाइभ भन्दा निकै फरक थियो ।
अहिले बजारमा सामसुंगले फेरि ग्यालेक्सी एस सेभेनको मिनी भर्सन ल्याउने नयाँ हल्लाहरु आएका छन् । ताइवानबाट आएको रिपोर्टअनुसार सामसुंगले एप्पलको नयाँ आउन लागेको ४ इन्चको आईफोनलाई टक्कर दिनका लागि ग्यालेक्सी एस सेभेन मिनी सार्वजनिक गर्न लागेको छ ।

रिपोर्टका अनुसार सामसुंगले पहिलोपटक उच्चतहको स्मार्टफोनको जस्तै स्पेशिफिकेसनसहितको सामसुंग मिनी ल्याउन लागेको हो ।
सामसुंगले ल्याउन लागेको नयाँ ह्याडसेटमा ४.६ इन्चको ७२०x१२८० पिक्सेल रिजोल्यूशनको टचस्क्रीन हुनेछ । यो फोनमा स्न्यापड्रयागन ८२० अथवा एक्सनोज ८८९० चीपसेटका साथमा ३ जीबी र्याम राखिनेछ ।
त्यस्तै मिनी फोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा हुनेछ भने यसको मोटाई ९.९ मिलिमिटर हुने रिपोर्टमा उल्लेख छ । यसमा थ्री एक्स जूमसहितको पेरिस्कोप लेन्स हुने उल्लेख गरिएको छ ।
रिपोर्टमा सामसुंगको ग्यालेक्सी एस सेभेन मिनीको बारेमा जानकारी आएपनि त्यो कत्तिको सहि हो भन्ने आगामी केहि दिनहरुमा नै देखिनेछ ।
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार