Technology Khabar १४ फाल्गुन २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १४ फागुन । तपाईँको फोन कति मिनेटमा चार्ज हुन्छ ? यो प्रश्नको उत्तर फरक फरक आउन सक्दछ । कसैले ३० मिनेट, कसैले ४५ मिनेटमा फोन चार्ज हुने अनुभव गरेका होलान् ।
फोन चार्ज हुन निकै समय लाग्ने हुँदा छिटो चार्ज गर्ने फास्ट चार्ज (Fast Charge) प्रविधि सँधै चर्चामा आउने गर्दछ । यहि बेला बार्सिलोनामा भईरहेको मोबाइल वल्र्ड कंग्रेस २०१६ (MCW 2016) मा एक कम्पनीले अहिलेसम्मकै सबैभन्दा छिटो चार्ज हुने ब्याट्री र स्मार्टफोनको घोषणा गरेको छ ।
चीनियाँ ब्राण्ड ओप्पोले (OPPO) बार्सिलोनामा आफ्नो ब्याट्री प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले सूपर भिओओसी (Super VOOC) चार्जिंग प्रविधिद्धारा नयाँ स्मार्टफोन १५ मिनेटमा नै चार्ज हुने दाबी गरेको छ । कम्पनीले यो विशेष प्रविधियुक्त ब्याट्री सहितको स्मार्टफोन १५ मिनेटमा नै चार्ज हुने जानकारी दिएको छ ।
हाल सबैभन्दा छिटो चार्ज हुन स्न्यापड्रयागनको नयाँ चीप ८२० केबल ३५ मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । त्यसैगरी हाल स्मार्टफोन कम्पनीहरुले क्वालकमको क्वीक चार्ज प्रविधिको प्रयोग गर्दै आएका छन् ।
ओप्पोले नयाँ प्रविधिमा विशेष एल्गोरिदमको प्रयोग गरिएको जनाएको छ । जसले डिभाइसमा हाई स्पीड चार्जिगमा तापलाई नियन्त्रण गर्दछ ।
बार्सिलोनामा आयोजित कार्यक्रममा कम्पनीका प्रवक्ता मार्टोन बार्जाले भने, ‘हामी केबल आफ्ना प्रिमियम सेटहरुमा मात्र यो प्रविधि प्रयोग गर्दछौं, किनकी यो उत्पादनको लागि केहि महंगो पर्दछ । यसका लागि विशेष चार्जर तथा विशेष ब्याट्री आवश्यक हुन्छ ।’
सूपर भिओओसी यूएसबी तथा यूएसबी सी केबलद्धारा यो ब्याट्री चार्ज गर्न सकिनेछ । यो फास्ट चार्जिग केबल २,५०० एमएएच ब्याट्री क्षमतामा मात्र कार्य गर्दछ । यसको अर्थ यो भन्दा बढि क्षमताको ब्याट्रीमा फास्ट चार्ज हुनेछैन् ।
ओप्पोको नयाँ चार्जिग प्रविधि केबल कम्पनीका स्मार्टफोनहरुमा मात्र प्रयोग गर्न सकिनेछ । हाल कम्पनीले यो प्रविधिसहितको स्मार्टफोनको प्रोटोटाइप मात्र कंग्रेसमा देखाएको थियो ।
प्रोटोटाइपले मोडिफाई गरिएको माइक्रो यूएसबी प्लग, साधारण भन्दा लामा र अधिक पिनहरु प्रयोग गर्नेछ यदपी यसमा सामान्य यूएसबी चार्जरद्धारा सामान्य किसिमले चार्ज गर्न सकिने बार्काले बताए ।
प्रकाशित: १४ फाल्गुन २०७२, शुक्रबार