
काठमाडौं ।
काठमाडौं, ५ माघ । नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा मीट (Meet) संचालनमा ल्याएको छ। उक्त सामाजिक सञ्जालको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच शुभारम्भ गरे।
उक्त अवसरमा मन्त्री राईले सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले पहिले देखि नै नयाँ नयाँ सेवा प्रदान गरिरहेको र यो सेवा पनि त्यसैको एउटा निरन्तरता भएको बताए।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विभिन्न चुनौतिको बाबजुद पनि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले कार्य गरिरहेको र अहिले यस प्रकारको नयाँ सेवा पनि उपलब्ध गराउन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए।
नयाँ सामाजिक सञ्जाल Meet को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक आपसमा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने बताईएको छ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको छ । 
कम्पनीले यसलाई www.meet.net.np डोमेन नेमको रुपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम ‘Meet’ राखिएको छ । नेपाली भाषामा ‘Meet’ को अर्थ भेट्नु हुने र सबै यही स्थानमा भेट हुने प्लेटफर्मको रुपमा यसलाई विकास गरिएको कम्पनीको भनाई छ ।
नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप यूनिफाईड कम्यूनिकेशन सिष्टम (UCS) को रुपमा विकास गर्न ल्याइएको सेवा भएको बताएको छ।
नेपाल टेलिकमले यही सेवा मार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस पनि निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत् प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिने कम्पनीले उल्लेख गरेको छ ।
नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न दश करोड २० लाख २४ हजार रुपैयाँ लगानी लागेको टेलिकमले जनाएको छ ।
कम्पनीका मोबाइल सेवा मार्फत वेवसाइटमा आफ्ना निश्चित विवरण भरी दर्ता गरेर उक्त सेवा उपभोग गर्न सकिन्छ ।
प्रकाशित: ५ माघ २०७२, मंगलवार