Technology Khabar ३० पुष २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३० पुस । विश्वभर पर्सनल कम्प्यूटरको बजार घटिरहेको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न मुलुकहरुमा भएको बिदाले गर्दा पर्सनल कम्प्यूटरको बजार १०।६ प्रतिशतले चौथो चौमासिकमा घटेको तथ्यांकमा आएको छ ।
आईडिसी र गार्टनरले गरेको अनुसन्धानअनुसार सन् २०१५ मा ३०० मिलियन भन्दा कम पर्सनल कम्प्यूटरको माग आएको थियो, जुन कयौं वर्षपछि यति कम भएको पहिलो पटक हो ।
यहि जनवरी १२ मा सार्वजनिक भएको तथ्यांकको आधारमा गार्टनरका विश्लेषकले सन् २०१४ मा सोहि अवधिमा केबल ८.३ प्रतिशतले ढुवानीमा कमी आएपनि सन् २०१५ मा भने १०.६ प्रतिशत रहेको बताए ।
विश्वका अधिकांश प्रमुख कम्प्यूटर निर्माता कम्पनीहरुले मागमा कमी आएको बताए तर अर्कोतर्फ एप्पलको मागमा भने २.३ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
आईडिसी विश्लेषकका अनुसार सन् २००८ पछि पहिलो पटक सन् २०१५ मा मागमा कमी हुँदै ३०० मिलियन भन्दा कम भएको बताए । सन् २०११ देखि स्मार्टफोन र ट्याबलेटले बजारमा आक्रामक उपस्थिती देखाएसँगै पर्सनल कम्प्यूटरको बजारमा चुनौती देखिँदै आएको छ । त्यसैगरी कमोडिटीको मूल्यमा कमी हुनु तथा अमेरिकी डलर मजबुत हुनुले पनि पर्सनल कम्प्यूटरको माग घटेको अनुमान गरिएको छ ।
गार्नटरका प्रमुख विश्लेषक मिकाको किटागावाले सन् २०१५ को चौथो चौमासिकमा विश्वभर पर्सनल कम्प्यूटरको मागमा कमी आएको उल्लेख गरेका छन् । उनले यो होलिडे सिजनले पनि पर्सनल कम्प्यूटरको माग बढाउन नसकेको भन्दै उपभोक्ताको खरिद व्यवहारमा परिवर्तन भएको आशंका व्यक्त गरेको छन् ।
बजारमा विण्डोज १० ले सकारात्मक प्रतिकृया पाएपनि अनुमान अनुसारकै प्रयोगकर्ताहरु विण्डोज १० मा निकै कम मात्र परिवर्तित भईरहेका छन् ।
चौथो चौमासिकमा पनि लेनोभो अझैपनि पहिलो स्थानमा रहेको छ, जसले २१.४ प्रतिशतको बजार ओगटेको छ । आईडिसीका अनुसार एचपी दोस्रो स्थानमा रहेकाछ, जसले १९.९ प्रतिशत बजार लिएको छ भने डेलले १४.१ प्रतिशत बजार हिस्सा लिएर तेस्रो स्थानमा रहेको छ । असुस र एप्पल भने ७.९ प्रतिशतको समान बजार हिस्सा सहित चौथो स्थानमा रहेका छन् । यो तथ्यांक गार्टनरको तथ्यांकसँग समान रहेको छ ।
उता जापानी पिसी निर्माता कम्पनीहरुले आफ्नो व्यवसायको लागि नयाँ विकल्प खोजिरहेका छन् । सन् २०१५ को डिसेम्बरमा आएको रिपोर्टअनुसार फुजित्सु, तोसिबा तथा सोनीको भायोले पिसी यूनिटलाई मर्ज गर्ने तयारी गरिरहेका छन् । यसका साथै फुजित्सुले पिसी तथा स्मार्टफोन व्यवजायसालाई एकैस्थानमा संचालन गर्ने घोषणा गर्यो ।
सन् २०१५ को पुरै वर्ष पिसी बजारको लागि निकै कठिन वर्ष भएपनि सन् २०१६ भने राम्रो हुने अनुमान गरिएको छ । अहिले प्रयोगमा रहेका कम्प्यूटरहरु करिब ४ देखि ५ वर्ष पुरानो भएको र मानिसहरुले उक्त पुरानालाई हटाएर नयाँ कम्प्यूटर किन्ने हुँदा बजार विस्तारको संभावना रहेको कम्पनिहरुले अनुमान गरेका छन् । उपभोक्ताहरुले माइक्रोसफ्टको विण्डोज १० मा अपरेटिंग सिस्टम भएको र इन्टेलको स्काईलेक प्रोसेसर युक्त कम्प्यूटर खरिद गर्ने संभवना रहेको बताईएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: ३० पुष २०७२, बिहीबार