
काठमाडौं ।
काठमाडौं, २३ पुस । के तपाईँलाई नेटफ्लिक्स (NETFLIX) भन्ने कम्पनीले नेपालमा सेवा शुरु गरेको र सेवाको लागी रकम भूक्तानी गर्ने इमेल आएको छ ? छ भने यो ‘फेक’ इमेल भनेर डिलिट गर्नुभयो की ? तपाईँलाई नेटफ्लिक्सले जानकारी दिन पठाएको इमेल सहि र सत्य हो । कतिपयलाई नेटफ्लिक्सले इमेल नै पठाएर नेपालमा पनि आफ्नो सेवा शुरु गरेको जानकारी दिएको छ ।
विश्वको सवैभन्दा चर्चित अनलाइन इन्टरनेट टेलिभिजन नेटवर्क नेटफ्लिक्सले नेपालमा पनि सेवा विस्तार गरेको छ । नेटफ्लिक्सले नेपाललगायतका विश्वका अधिकांश मुलुकमा आफ्नो सेवा थप यहि जनवरी ६ तारिखदेखि बिस्तार गरेको जानकारी दिएको छ । कम्पनीले अमेरिकामा आयोजना भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१६ को शुरुवाती दिन पारेर विश्वका १३० नयाँ मुलुकहरुमा सेवा बिस्तार गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसको अर्थ हो अब नेपालीहरुले पनि विश्वभरका विभिन्न टेलिभिजन शो, मुभी, भिडियोहरु इन्टरनेटको माध्यमबाट हेर्न सक्दछन् । अब तपाईँले पनि यसको सेवा रकम भूक्तानी गरेर आफ्नो कम्प्यूटर, ल्यापटप वा स्मार्ट टेलिभिजनलगायतका डिभाइसको माध्यमबाट उपयोग गर्न सक्नुहुनेछ ।

नेटफ्लिक्सको सेवा कम्पनीले तीन किसिमले प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकलार्इृ आफ्नो आवश्यकताअनुसारको सेवा छनौट गर्न दिनेछ । यसमा वेसिक, स्ट्याण्डर्ड तथा प्रिमियम रहेका छन् ।
वेसीक सेवाको लागि ७.९९ अमेरिकी डलर भुक्तानी गर्नुपर्दछ भने यसमा ग्राहकहरुले हाईडेफिनिशन तथा अल्ट्रा हाईडेफिनिशन सेवा पाउने छैनन् । त्यसैगरी यसमा एक पटकमा एउटा स्क्रीन मात्र हेर्न सकिन्छ भने यसमा असिमित मूभीज तथा टेलिभिजन शोहरु हेर्न सकिन्छ । त्यसैगरी यसको सेवा कुनैपनि समय रोक्न सकिन्छ भने पहिलो महिना निशुल्क सेवा प्रयोग गर्न सकिनेछ ।
नेटफ्लिक्सको स्ट्याण्डर्ड तथा प्रिमियम सेवाहरुमा भने एचडी तथा अल्ट्रा एचडी उपलब्ध हुनेछ भने एकैपटक मल्टिपल स्क्रीन प्रयोग गर्ने सेवा रहेको छ । यी सेवाहरुको अन्य सुविधा भने बेसीककै जस्तो रहेको छ ।
कम्पनीका सह संस्थापक तथा प्रमुख कार्यकारी रीड ह्यास्टींगले भने, ‘हामी आज नयाँ विश्वव्यापी इन्टरनेट टिभी नेटवर्कको जन्मको साक्षि भएका छौं । इन्टरनेटको सहयोगबाट, हामी उपभोक्ताको हातमा नै जतिबेला चाह्यो, जहाँसुकै र जुन डिभाइसमा पनि शक्ति प्रदान गरिरहेका छौं ।’
एक महिनाको मूल्यमा ग्राहकहरुले नेटफ्लिक्सको ओरिजिनल सिरिज मार्भेल्स डेयरडेभिल तथा मार्भेल जेसिका जोन्स, नार्कोस, सेन्स एट, ग्रेस एण्ड फ्र्यांक जस्ता टिभी शो हेर्न सक्नेछन् ।
नेटफ्लिक्सका अधिकांश सेवाहरु अंग्रेजीमा भएपनि कम्पनीले अरेबिक, कोरियन, चीनियाँ भाषाका सेवाहरु पनि थप गरेको छ । कम्पनीले चीनियाँ भाषा सेवा संचालन गरेपनि चीनमा भने नेटफ्लिक्सको सेवा उपलब्ध छैन् । त्यसैगरी क्रिमिया, उत्तर कोरिया र सिरियामा भने अमेरिकी सरकारको प्रतिबन्धका कारण उपलब्ध हुनेछैन् ।
सन् २००७ देखि सेवा शुरु गरेको कम्पनीले पहिलो चरणमा अमेरिका, जापान, क्यानाडालगायत ६० मुलुकहरुमा सेवा दिँदै आएको थियो ।
प्रकाशित: २३ पुष २०७२, बिहीबार