साझा यातायातको गाडी भाडा भुक्तानी अब स्मार्ट कार्डबाट

  • Technology Khabar | ३० कार्तिक २०७२, सोमबार
साझा यातायातको गाडी भाडा भुक्तानी अब स्मार्ट कार्डबाट

काठमाडौं ।

काठमाडौ, ३० कात्तिक । साझा यातायातले सोमवारदेखि ‘स्मार्ट ट्राभल कार्ड’ सेवा सुरु गरेको छ । साझा यातायातको कार्यालय पुल्चोकमा एक कार्यक्रमकाबीच स्मार्ट कार्डको उद्घाटन तथा परीक्षण शुरु गरिएको हो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सीईओ देवेन्द्रप्रताप शाह र भारतीय कम्पनी नुस्पेका सीईओ हर्मित सिंह सेठीले कार्ड सेवाको संयुक्तरुपमा उद्घाटन गरे। नेपाल बैंकको सहकार्यमा  सो कार्ड सेवा शुरु गरिएको हो।

साझाले लगनखेलबाट नारायणगोपाल चोकहुँदै नयाँ बसपार्कसम्म संचालन हुने बा १ ख २२१७ नम्बरको बसबाट ट्राभल स्मार्टकार्डको परीक्षण प्रयोग शुरु गरेको हो । सो बसका अगाडी र पछाडीका दुई वटै ढोकामा स्मार्ट कार्ड डिभाइस राखिएको छ ।

पहिलो एक महिना साझा यातायातका कर्मचारीले बसमा स्मार्टकार्डको परीक्षण प्रयोग गर्ने र एक महिनापछि साझा यातायातका सबै बसमा स्मार्ट ट्राभल कार्डको प्रयोग सुरु हुने बताईएको छ र सबै बसमा सेवा शुरु भएपछि यात्रुहरुले पनि स्मार्टकार्ड किन्न र प्रयोग गर्न पाउने छन् । साझाकाअनुसार हाल उपत्यकाभित्र विभिन्न रुटमा १६ वटा बसहरु संचालनमा छन्।

के हो साझाले ल्याएको स्मार्ट कार्ड

साझाले प्रयोगमा ल्याएको स्मार्ट ट्राभल कार्ड साझाका गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । साझाले २ सय रुपैंयामा विक्री गर्ने स्मार्टकार्डमा ५० रुपैयाँको ब्यालेन्स पनि हुनेछ । यो स्मार्ट कार्ड रिचार्ज गर्न हाल प्रचलमा रहेको मोबाइल रीचार्ज जस्तै रीचार्ज कार्ड प्रयोग गर्न सकिने बताईएको छ ।

यो कार्ड प्रयोग गर्ने यात्रुले उक्त कार्ड बसको ढोकामा रहेको डिभाइसमा देखाउनुपर्नेछ । त्यसपछि चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्टकार्डबाट रकम काट्नेछ ।

काटिएको भाडा रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा सिधै जम्मा हुनेछ । यो कार्ड एक महिनापछि साझा यातायातले आफ्नै कार्यालयबाट २ सय रुपैयाँका दरले बिक्री गर्ने जनाएकोछ ।

प्रकाशित: ३० कार्तिक २०७२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...