
काठमाडौं ।
काठमाडौं, ६ भदौ । छिमेकी राष्ट्र चीनको तिब्बत स्वायत्त प्रदेशका डिपुटी सेक्रेटरी जनरल क्वेदान नाजेईको नेतृत्वमा १० सदस्यीय सरकारी एवं ४० सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको छ । द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका लागि आएको टोलीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल तथा चीनको तिव्बत बीच सदियौं पुरानो व्यापारिक सम्बन्धलाई व्यापार मेलाको माध्यमबाट सम्बन्ध विस्तार तथा लगानी भित्र्याउन नेपाल चीन उद्योग वाणिज्य संघ तथा चीनको तिब्बत चेम्बर अफ बोर्डर ट्रेडबीच द्विराष्ट्रिय लगानी विस्तार तथा व्यापारिक मेलाको आयोजना गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरियो ।
संघका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र चीनको तिब्बत चेम्बर अफ बोर्डर ट्रेडका तर्फबाट प्रेसिडेन्ट ल्हाफा ट्रिन्ग्लेले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गर्ने समेत उल्लेख छ ।
सो कार्यक्रममा तिव्वत तथा नेपालका ७ नीजि कम्पनी वीच लगानी तथा व्यापार विस्तारका लागि संयुक्त लगानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । सो हस्ताक्षर वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा तथा चीनको तिब्बत चेम्बर अफ बोर्डर ट्रेडका डिपुटी सेक्रेटरी जनरल क्वेदान नाजेईको रोहवरमा सम्पन्न भएको संघले जनाएको छ ।
प्रकाशित: ६ भाद्र २०७२, आईतवार