
काठमाडौं ।
काठमाडौं, २० जेठ । भारतीय स्मार्टफोन कम्पनी पहिलो पटक विश्वका प्रमुख १० मोबाइल बिक्रेता कम्पनीमा पर्न सफल भएको छ । माइक्रोम्याक्स जनवरी-मार्च त्रैमासीकमा १.८ प्रतिशत बजार हिस्साका साथ विश्वको शीर्ष १० हेडसेट बिक्रेता कम्पनीमा पर्न सफल भएको हो ।
अनुसन्धान फर्म गार्टनरका अनुसार २०१५ को पहिलो त्रैमासीकको अवधिमा फीचर तथा स्मार्टफोनको कुल बिक्री पछिल्लो सालको सोहि अवधिको तुलनामा २.५ प्रतिशतले वृद्धि भएर ४६.०३ करोड वटा सेट पुगेको छ ।
कोरियाली कम्पनी सामसुंग अहिले पनि विश्व बजारमा २१.३ प्रतिशत बजार हिस्साका साथमा प्रमुख बिक्रेता कम्पनीमा रहेको छ भने एप्पल १३.१ प्रतिशत हिस्साका साथै दोस्रो स्थानमा रहन सफल भएको छ ।
सामसुंगले सन् २०१४ को चौथो अवधिको तुलनामा ११ प्रतिशतले बजार हिस्सा वृद्धि गरेको छ । गार्टनरले सामसुंगको यो वृद्धि दोस्रो चौमासीकदेखि कमजोर हुने अनुमान गरेको छ ।
त्यस्तै माइक्रोसफ्टको बजार हिस्सा ७.२ प्रतिशतका साथ तेस्रो स्थान, एलजी ४.३ बजार हिस्साका साथ चौथो तथा लेनोभोको ४.२ प्रतिशत बजार हिस्साका साथ विश्वको पाचौं स्थानमा रहेको छ ।
माइक्रोम्याक्सले फीचर फोनबाट स्मार्टफोनमा परिवर्तन हुन चाहने ग्राहकहरुको बजार हिस्साबाट फाईदा लिएर शीर्ष १० मा पर्न सफल भएको हो । माइक्रोम्याक्सको क्यानभास सिरिजमा देखिएको ग्राहकहरुका अधिक रुचीका कारण कम्पनीले पछिल्ला चरणमा नयाँ र आकर्षक क्यानभास स्पार्क, कानभास नाईट, क्यानभास डूडल फोर, क्यानभास फायरजस्ता स्मार्टफोन बजारमा ल्याएको छ ।
यो त्रैमासीकमा स्थानिय ब्राण्डहरु तथा चीनियाँ कम्पनीहरु उदाउँदो बजारमा महत्वपूर्ण बिजेता भएर आएका छन्, गार्टनरका अनुसन्धान निर्देशक अन्सुल गुप्ताले भने, यी कम्पनीहरुले स्मार्टफोनको बिक्रीमा ७३ प्रतिशतको औसत हिस्सा कायम गरेका छन भने संयुक्तरुपमा ३८ प्रतिशतदेखि ४७ प्रतिशत हिस्सा सन् २०१५ को पहिलो त्रैमासीकमा ओगटेका छन् ।
शीर्ष १० कम्पनीमा पर्न सफल कम्पनीहरुमध्ये हुवावेको बजार हिस्सा ४ प्रतिशत छ भने शिओमीको ३.२ प्रतिशत छ । त्यस्तै टीसीएल कम्यूनिकेशनको हिस्सा ३.१ प्रतिशत, जेडटीईको २.७ प्रतिशत तथा माइक्रोम्याक्सको बजार हिस्सा १.८ प्रतिशत रहेको हो ।
प्रकाशित: २० जेष्ठ २०७२, बुधबार