
काठमाडौं ।
काठमाडौं, २९ माघ । विश्वको सबैभन्दा पातलो स्मार्टफोनको उपाधि लिनको लागी चीनियाँ मोबाइल उत्पादकहरुका बिचमा होडबाजी नै चलेको देखिन्छ । एशियाका प्रमुख मोबाइल उत्पादक कम्पनीहरु एक आपसमा कसले पातलो मोबाइल ल्याउने भनेर प्रतिस्पर्धा गरिरहेका छन् भने अर्कोतर्फ एकपछि अर्को कम्पनीले पातलो स्मार्टफोन सार्वजनिक गरिरहँदा शिर्ष स्थानमा को भन्ने प्रश्न आउने गरेको छ ।
विश्वमा सबैभन्दा पातलो स्मार्टफोन बनाउने श्रेय चीनियाँ स्मार्टफोन कम्पनी जियोनी (Gionee) लाई जान्छ । जियोनीले सबैभन्दा पहिले इलाईफ एस ५.१ स्मार्टफोन बनाएर विश्वको पातलो फोन बनाउने शुरुवात गरेको हो, जुन फोन ५.१५ मिलिमिटर पातलो थियो । यो स्मार्टफोनले गिनिज वर्ल्ड रेकर्डमा पनि दर्ता हुन सफल भयो । तर केहि समयमा नै अर्को स्मार्टफोन कम्पनी ओप्पोले ओप्पो आर५ (Oppo R5) उत्पादन गर्दै जियोनीलाई तत्काल विस्थापित गर्यो । ओप्पो आर५ स्मार्टफोन ४.८५ मिलिमिटर पातलो थियो भने त्यसपछि अर्को चीनियाँ कम्पनी भिभोले पातलो स्मार्टफोन सार्वजनिक गर्यो । भिभोले ल्याएको एक्स५ म्याक्स (Vivo X5) स्मार्टफोन ४.८ मिलिमिटरको मात्रै थियो । अहिले विश्वको सबैभन्दा पातलो स्मार्टफोनको नाममा आईभीभीआई के १ मिनी (Ivvi K1) रहेको छ, जुन ४.७ मिलिमिटर मात्रै रहेको दाबी गरिएको छ ।
यहि बिचमा जियोनीले आफ्नो फ्ल्यागशिप फोनअन्तरगत नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । जसको बारेमा केहि जानकारीहरु तथा तस्विर लीक भएको छ । यो नयाँ स्मार्टफोन इलाईफ एस७ (Elife S7) भएको अनुमान छ, जुन निकै पातलो रहेको छ ।
चीनबाट लीक भएका तस्विरहरु हेर्दा जियोनीको इलाईफ एस७ स्मार्टफोनको यूनिट निकै र आश्चार्यलाग्दोरुपमा पातलो देखिन्छ । प्राप्त रिपोर्टहरुका अनुसार यो स्मार्टफोन ४.६ मिलिमिटर मोटाईको मात्र हुनेछ । अर्थात यो स्मार्टफोन सार्वजनिक भएपछि विश्वकै सबैभन्दा पातलो स्मार्टफोन हुने अनुमान छ ।
जियोनीको एस७ मोडेल नम्बरले यो स्मार्टफोन निकै फ्ल्याट भएको आशंका गरिएको छ, जसको डिस्प्ले ७ इन्चको हुनसक्दछ । यसअघि पनि जियोनीले आफ्नो स्मार्टफोनको मोटाई अनुसार इलाईफको सिरिजको नाम राखेको थियो ।
जियोनीले यसअघि नै बार्सिलोनामा मार्च २ तारिखमा हुने मोबाइल वर्ल्ड कांग्रेस २०१५ को इभेन्टको लागि निम्तोपत्र पठाईसकेको छ, जसमा इलाईफ एस ७ सार्वजनिक गरिने अनुमान छ । जियोनीको नयाँ डिभाइसले अहिले भईरहेको स्मार्टफोनको मोटाईको रेकर्ड तोड्न सक्दछ की सक्दैन त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ । एजेन्सीहरु
प्रकाशित: २९ माघ २०७१, बिहीबार