
काठमाडौं ।
काठमाडौं, ११ कात्तिक । इकमर्श साइट स्न्यापडीलमा जापानको दूरसंचार क्षेत्रको प्रमुख कम्पनी सफ्टबैंकले ६२७ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । स्न्यापडीलले नयाँ लगानीको बारेमा आज जानकारी दिएको हो । यो लगानीसँगै इमकर्श साइट स्न्यापडीलको सबैभन्दा ठूलो अंशियार हुनेछ । भारतको कुनैपनि इकमर्श कम्पनीमा अहिलेसम्म गरिएको यो सबैभन्दा ठूलो लगानी हो । यस लगानीमा अन्य लगानीकर्ताहरुपनि सहभागी भएका छन् तर कम्पनीहरुले लगानीको रकम खुलाशा गर्न भने अस्विकार गरेका छन् ।
स्न्यापडीलले यो लगानी आगामी महिनामा आफ्ना गोदामहरुको संख्या वृद्धि गर्न तथा मोबाइल टेक्नोलोजी अधिग्रहण गर्न उपयोग गर्ने बताईएको छ । भारतमा बढ्दो मोबाइल कारोबारका बिच दिल्लीमा मुख्य कार्यालय रहेको कम्पनीले एक इन्क्यूवेशन केन्द्र स्थापना गर्न लागेको छ, जसले आगामी छ महिनामा मोबाइल टेक्नोलोजीको क्षेत्रमा नयाँ कारोबार गर्न सहयोग पुर्याउनेछ ।
यो रणनीतिक लगानी तथा अन्य लगानीकर्ताको माध्यमबाट सफ्टबैैक समूह भारतमा आफ्नो उपस्थिती बढाउन चाहन्छ साथै विश्वभरका इन्टरनेट कम्पनीको नेटवर्कका साथ आफ्नो तालमेलको फाईदा उठाउन चाहेको स्न्यापडीलले जारी गरेको स्टेटमेन्टमा उल्लेख छ ।
स्न्यापडीलले यो वर्ष करीब एक अर्ब डलर लगानी जुटाएको छ । सन् २०१० मा स्थापित यो कम्पनीको २.५ करोड दर्तावाला प्रयोगकर्ता तथा ५० हजार भन्दा अधिक कारोबार गर्ने बिक्रेता रहेका छन् ।
सफ्टबैंक कर्पका चेयरम्यान तथा मुख्य कार्यकारी मासायोशी सोनले भने, ‘भारत आफ्नो विकासको क्रान्तिकारी मोडमा रहेको हाम्रो मान्यता छ; भारतले आगामी दशकमा सशक्त विकास स्थापित गर्ने भरोसा रहेको छ । यहि विश्वासका साथ हामीले भारतमा आगामी केहि वर्षमा ठूलो रकम लगानी गर्न चाहेका छौं, जसले गर्दा बजारको विकासलाई सहयोग पुगोस ।’
सफ्ट बैंकले भारतको सूचना प्रविधि तथा संचारको क्षेमा १० अर्ब डलर लगानीको प्रतिवद्धता गरेको छ, जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान भ्रमणपछि कुनै जापानी कम्पनीको सबैभन्दा ठूलो लगानी हो ।
यस अघि यो वर्ष स्न्यापडीलले १३.३७ करोड डलर लगानी उठाएको थियो । एजेन्सीको सहयोगमा
प्रकाशित: ११ कार्तिक २०७१, मंगलवार